+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या गापाको भत्ता चोरी प्रकरण अख्तियारमा

पञ्चकन्या गापाको भत्ता चोरी प्रकरण अख्तियारमा
त्रिशूली प्रवाह
४ साल अगाडी

Satkar Machinery Center
Utsuk Books & Stationery

घलेभञ्ज्याङ: नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा २०७७ चैत २४ गते रहस्यमय तरिकाले सामाजिक सुरक्षा भत्ता हराएको थियो । सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनेर बैंकबाट झिकेर लगेको ५३ लाख चोरी प्रकरणमा अख्तियारले तीनजनाविरुद्धा भ्रष्टाचार मुद्दा लामो अनुसन्धानपछि दायर गरेको छ ।

Suzuki New Bike & Scooter


गाउँपालिका– २ को वडा कार्यालयबाट एघार महिनाअघि ५३ लाख रुपैयाँ चोरी भएको थियो । एघार महिनापछि अख्तियारले छानबिन गरेर वडासचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका– २ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । ०७७ चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम वडा कार्यालयबाट शङ्कास्पद तरिकाले हराएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिपाऊँ भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको छानबिन गरेको थियो ।


आयोगका अनुसार वडासचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र रकमलाई वडासचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको पाइएको अख्तियारले जनाएको छ । दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवम् ढोकाको चाबी नीलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात् कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत नगरेको देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले वडा कार्यालयमा रकम राखी घर गएको, तर भोलिपल्ट रकम कार्यालयको दराजबाट गायव भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानि–नोक्सानी गरेको ठहरसहित आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनैजनाबाट असुलउपर गराउन तथा कानुनअनुसार थप सजाय माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह