अन्तर्वार्ता: सहाराविहीन, दुःखी, गरिब र पीडितको सेवाका लागि आफूलाई समर्पित गरिरहेकी छु

सुनितामाया गुरुङ
सामाजिक अभियन्ता
धुन्चे, रसुवा

विगत १० वर्षदेखि रसुवामा महिला सञ्जालमा कार्यरत छन् सुनितामाया गुरुङ । उनी जिल्लामा सामाजिक अभियन्ता र महिला अधिकारकर्मीको रूपमा समेत परिचित रहेकी छिन् । गुरुङ जिल्लाको उत्तरगया गाउँपालिका– ३ ठूलोगाउँका बुबा चक्रबहादुर गुरुङ र आमा संगीतादेवी गुरुङको कोखबाट जन्मिएकी हुन् । उनी विवाहपश्चात् गोसाइँकुण्ड गाउँपालिका– ६ धुन्चेमा बस्दै आएकी छिन् । उनी हाल कानुन विषयमा स्नातकोत्तर अध्ययनरत छिन् । एलएलबी तेस्रो वर्षमा नेपाल ल क्याम्पसमा अध्ययनरत गुरुङसँग रसुवामा महिलाको अवस्था, जनप्रतिनिधि र सरकारी निकायको सहयोगबारे त्रिशूली प्रवाह साप्ताहिकका लागि सरस्वती न्यौपानेले गरेको कुराकानीको सारसङ्क्षेप :

कहिलेदेखि सामाजिक क्षेत्रमा लाग्नुभयो ?
म सानै उमेरदेखि सामाजिक क्षेत्रमा हुने राम्रा–नराम्रा घटनालाई नजिकबाट नियाल्थे र चासो राख्दथेँ । अन्यायमा परेका मानिसलाई कसरी न्याय दिलाउन सकिन्छ होला भनेर मनमनै सोच्थेँ, बाल्यकालदेखि नै मभित्र हुर्किँदै गएको सामाजिक न्यायको चिन्तनले आफू केही बुझ्न सक्ने भएपछि फिल्डमै उत्रेँ । विगत १० वर्षदेखि सामाजिक कार्य र सामाजिक न्यायका लागि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सक्रिय हुँदै आएकी छु ।

सामाजिक अभियन्ता र महिला अधिकारकर्मी भएर काम गर्दा दबाब कत्तिको झेल्नुभयो ?
सानै हुँदादेखि नै मेरो अन्तरआत्माभित्र सुषुप्त रूपले हुर्कँदै गरेको न्यायका लागि लड्नुपर्छ भन्ने भावनाबाट निर्देशित भएकी हुँदा यस क्षेत्रमा आउने कुनै पनि दबाबलाई मैले महत्व दिइनँ । मलाई दबाबले प्रभाव पार्न सक्दैन । तसर्थ दबाब आए पनि त्यसबाट विचलित भइनँ र भोलि पनि हुन्नँ । कोही, कसैको स्वार्थपूर्तिका लागि मेरो लक्ष्य प्रभावित हुन दिन्नँ, जुन मान्यताबाट सामाजिक सेवामा म सक्रिय छु । व्यक्तिगत स्वार्थ र लाभमा समाजको सेवामा म लागेकी होइन । सहाराविहीन, दुःखी, गरिब र पीडितको सेवाका लागि आफूलाई समर्पित गरिरहेकी छु । कुनै पनि प्रलोभन र दबाबले मलाई प्रभावित गर्न सक्दैन । दश वर्ष कामको दौरानमा धेरै दबाब झेल्नुपपर्यो, तैपनि म विचलित भइनँ ।

कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
महिला तथा बालबालिकाको हितका लागि धेरै नै विषयमा अधिकार स्थापित गर्न म लागिपरेकी छु । अधिकारकर्मी भएर पीडितलाई निःस्वार्थ सहयोग र सेवा गरेकी छु । कुनै पनि घटनासँग सम्बन्धित पीडितलाई न्याय दिलाउनु म आफ्नो मानवीय कर्तव्य ठान्छु । कहीँ कतै पहुँच नभएका, न्याय पाउनबाट वञ्चित हुन लागेका सर्वसाधारण नागरिक जसले सहयोगको याचना र अनुरोध गर्दै मलाई भेट्न आउँछन् ती पीडित हुन् कि होइनन् भन्ने कुरा बुझेर सहयोगका लागि सम्बन्धित निकायमा पहल गर्ने गर्छु । म सधैँ पीडितको पक्षमा हुन्छु, सत्यको पक्षमा हुन्छु, मैले हात हालेको केसमा अहिलेसम्म असफल भएको छैन बहुविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणी केसमा पीडकले हदैसम्मको सजाय पाएका छन् र मेरो प्रमुख उद्देश्य भनेको कानुनअनुसार दण्डित हुन परोस् र पीडितले न्याय पाऊन् र निर्दोष मानिसले पनि दण्डित हुन नपरोस् भन्ने दृष्टिकोण रहेको छ । आजसम्म मैले यस क्षेत्रमा निःस्वार्थ र सेवाको भावनाले काम गर्दै आइरहेकी हुँदा म आफूले हेरेको काममा पूर्ण सन्तुष्टि छु । लैङ्गिक हिंसासँग सम्बन्धित सम्बन्धविच्छेदका घटनामा लैङ्गिक हिंसामा परेका महिला दिदीबहिनीलाई न्याय दिलाउनु र यौनजन्य अपराधमा संलग्न मानिसलाई दण्डित गराउन आफूले गरेको खबरदारी र सम्बन्धित निकायसमक्ष गरेको सहजीकरण मेरो सामाजिक सेवा क्षेत्रका महत्वपूर्ण घटनाको रूपमा स्मरण गरेको छु । यसैबाट सन्तुष्टि मिलेको छ ।

काम गर्दा परिवारको सहयोग कत्तिको पाउनुभएको छ ?
हामी पितृसत्तात्मक मान्यता हाबी भएको समाजका सदस्य हौँ । त्यसमाथि पनि म एउटा नारी र गृहिणी हुँ । तर, म जुन परिवारमा जन्मेँ, हुर्किएँ र आज एउटा परिवारको जिम्मेवारीभित्रको गृहिणीसमेत हुँ । मलाई आफ्नो सम्पूर्ण परिवारजन र अभिभावकबाट पूर्ण रूपले सहयोग, हौसला, उत्प्रेरणा प्राप्त भएर नै म यस क्षेत्रमा सक्रियपूर्वक लाग्न सकेकी छु । सङ्क्षेपमा भन्नुपर्दा मलाई मेरो श्रीमान् र घरपरिवारको पूर्ण सहयोग छ । यसका लागि परिवारप्रति कृतज्ञ छु ।