विदुर: नुवाकोट र रसुवामा परिवार सङ्ख्याभन्दा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या धेरै देखिएको छ ।
राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोटमा ६५ हजार सात सय सय ३४ घर छन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७८ हजार पाँच सय १८ घरधुरी भूकम्पपीडित रहेको विवरण सार्वजनिक गरेको छ । विवरणमा ७६ हजार पाँच सय सय ३७ जनासँग अनुदान रकम प्रवाहका लागि प्राधिकरणले सम्झौता नै गरेको छ । ७६ हजार पाँच सय ३६ जनाले अनुदानबापतको रकम नै बुझेको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको छ । तर, जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार नुवाकोटमा रहेको मतदाता सङ्ख्या, घरधुरी सङ्ख्या र भूकम्प प्रभावित नागरिकको सङ्ख्याको अनुपात मिलेको छैन । सबैमा तथ्याङ्कअनुसार सबैभन्दा कम जनगणनाको तथ्याङ्क रहेको छ ।
राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार रसुवामा ११ हजार तीन सय ६२ घर छन् जसमा ११ हजार आठ सय ४१ परिवार बसोवास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार तीन सय सातजना भूकम्पपीडितसँग लाभग्राहीका रूपमा सम्झौता गरेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार गोसाइँकुण्डका एक हजार नौ सय ३६, कालिकाका दुई हजार ६ सय आठ, नौकुण्डका तीन हजार तीन सय ६३, आमाछोदिङ्मोका दुई हजार ३५ र उत्तरगयाका दुई हजार तीन सय ६५ जना लाभग्राहीसँग सम्झौता भएको छ । प्राधिकरणले गरेको सम्झौताअनुसार जिल्लामा १२ हजार तीन सय सातवटा घर हुनुपर्ने हो । तर, गत बिहीबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नौ सय ४५ कम घर देखिन्छ । परिवारको सङ्ख्यालाई आधार मान्ने हो भने पनि चार सय ६६ कम देखिन्छ ।
गोसाइँकुण्ड गाउँपालिकामा दुई हजार एक सय ४९ घरमा दुई हजार चार सय ७७ परिवार, कालिकामा दुई हजार चार सय १२ घरमा दुई हजार चार सय ७४ परिवार, नौकुण्डमा दुई हजार आठ सय ७८ घरमा दुई हजार आठ सय ९९ परिवार, आमाछोदिङ्मोमा एक हजार ६ सय ८८ घरमा एक हजार सात सय २७ परिवार र उत्तरगयामा दुई हजार दुई सय ३५ घरमा दुई हजार दुई सय ६४ परिवार बसोवास गर्ने प्रारम्भिक नतिजामा उल्लेख छ । प्राधिकरणको तथ्याङ्कअनुसार गोसाइँकुण्डबाहेक अन्य गाउँपालिकामा परिवार सङ्ख्याभन्दा धेरैसँग अनुदानको सम्झौता गरेको देखिन्छ ।
प्रतिक्रिया