नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय उद्घाटन

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:०१

छहरे: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नुवाकोटका नेता/कार्यकर्तालाई आह्वान गरेका छन् ।


नेपाली काङ्ग्रेस नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं. १ को प्रदेश ‘ख’ को कार्यालयको छहरेबजारमा संयुक्त रूपमा उद्घाटन गर्दै प्रवक्ता महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिएका छन् । पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिन नहुने बताउँदै उनले पार्टीको निर्माण निर्वाचन जितेर सत्तामा पुग्नुभएकाले आमनिर्वाचनमा जित प्राप्त गर्नतर्फ लाग्न उनले निर्देशन दिए । वडा तहदेखि नै सङ्गठन बलियो बनाउँदै पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यानाकर्षण गराए । आसन्न स्थानीय तहको निर्वाचनमा जुन पार्टी वलियो हुन्छ, त्यही पार्टीले त्यसपछिका निर्वाचन आफ्नो पक्षमा बनाउने हुँदा वडादेखि नै चुनावी माहोल आफ्नो पक्षमा बनाउनतर्फ लाग्न प्रवक्ता महतले आग्रह गरे । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र रामहरि खतिवडाले काङ्ग्रेसको सङ्गठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीर रूपमा लिएको बताए । सो कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेश महत, लिखु गाउँपालिकाका सभापति विनोद पाठकलगायतले सम्बोधन गरेका थिए ।