वधशाला निर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:०९


विदुर: विदुर नगरपालिकाभित्र सफा, स्वच्छ र हाइजेनिक मासुका लागि व्यवस्थित र सम्पूर्ण सुरक्षा प्रविधिसहितको आधुनिक एकीकृत वधस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका– ४ त्रिशूली नदीको किनारको सिमचौरमा निर्माण भएको वधशालामा सूचीकृत र तालिमप्राप्त भेटेरिनरी डाक्टरबाट वध गर्न योग्य पशुको मात्र वध गरिन्छ ।


वधस्थलको निर्माण गर्न विदुर नगरपालिकाको अनुरोधमा सङ्घीय सरकारको विशेष अनुदान र नगरपालिकाको दुई करोड ८८ लाख ४१ हजार (लोकतान्त्रिक चोकदेखि सडक पिचसमेत) लगानी भएको छ । वधशाला सञ्चालनका लागि सरोकारवाला तथा मासु व्यवसायीसँग बैठकसमेत नगरपालिकाले गरिसकेको छ । व्यवसायीले पनि एकीकृत रूपबाट वध गर्न सहमति जनाई वधशाला सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सूचीकृत र तालिमप्राप्त भेटेरिनरी डाक्टरबाट वध गर्न योग्य पशुको मात्र वध गरी प्राविधिकबाट जाँच गरी प्रमाणीकरणपश्चात् मात्र हाइजेनिक मासु बजारमा बिक्री–वितरणका लागि पठाउने उद्देश्यका साथ विदुर नगरपालिकाले वधशाला निर्माण गरेको मेयर सञ्जु पण्डितले बताए । सिमचौरको खेर गइरहेको खाली जग्गामा एकीकृत पशु वधस्थलको निर्माणकार्य सम्पन्नको अन्तिम चरणमा पुगेको छ । वधस्थलको सम्पूर्ण कार्य सम्पन्नपश्चात् नगरपालिका क्षेत्रभित्र बिक्री–वितरण गरिने राँगा, खसी र कुखुराको वध यसै स्थानमा गरी सो स्थानबाट नै पशु चिकित्सकबाट खानयोग्य भनी प्रमाणीकरण गरेपछि मात्र बजारमा पठाउने योजना नगरपालिकाको रहेको छ ।