जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल | चार पालिकाको नयाँ भवन, चारको सुरु नै भएन
विदुर: पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित नुवाकोटका १२ वटा पालिकाका जनप्रतिनिधिमध्ये चारवटा पालिकाको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
जिल्लाको पञ्चकन्या, म्यागङ, ककनी गाउँपालिका र विदुर नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छ भने तारकेश्वर, सूर्यगढी, लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकाको भवन निर्माण सुरुसमेत हुन सकेको छैन । पहिलो जनप्रतिनिधिको पाँचवर्षे कार्यकालमा शिवपुरी र तादी गाउँपालिकाको नयाँ भवन निर्माण गरेर नयाँ भवनबाट कार्यालयसमेत सञ्चालन भइरहेको छ । दुप्चेश्वर र किस्पाङ गाउँपालिकाले नयाँ भवनबाट कार्यालय सञ्चालका लागि तयारी गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । पञ्चकन्या गाउँपालिकाको र म्यागङको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने विदुर नगरपालिका र ककनी गाउँपालिकाको निर्माण सुरुवातको चरणमा रहेकोसमेत उनले जानकारी दिए ।