निर्वाचन दिवसमा अन्तक्र्रिया मतदाता परिचयपत्र नयाँ बनाउनुपर्ने माग

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:३१

विदुर: छैटौँ निर्वाचन दिवस २०७८ को अवसरमा शुक्रबार नुवाकोट जिल्लामा राजनीतिक दल तथा सरोकारवालाबीच निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्र्रिया सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नयाँ बनाउने प्रयोजनका लागि निर्वाचन आयोगले जारी गरेको म्याद र प्रक्रिया सच्याउनुपर्ने माग गरेका थिए ।


जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले निर्वाचन आयोगले जारी गरेको म्याद र प्रक्रियाअनुसार नै कार्य सम्पादन भए धेरै नागरिक मतदान प्रक्रियाबाट हट्ने बताए । मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नयाँ परिचयपत्र बनाउने प्रयोजनका लागि निर्वाचन आयोगले जारी गरेको म्याद र प्रक्रियाप्रति उनले आपत्ति जनाउँदै आयोगले दिएको म्याद कम भएको र प्रक्रिया झन्झटिलो भएको भन्दै सच्याउनु माग गरेका छन् । ‘यसबारे वैकल्पिक व्यवस्था अनिवार्य छ,’ उनले भने । सो कार्यक्रममा जिल्ला निर्वाचन अनुगमन व्यवस्थापन समितिका संयोजक एवम् निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मतदाता परिचयपत्रको विषयमा सरोकारवालाबाट उठेको जिज्ञासा वा परामर्श जिल्ला निर्वाचन कार्यालय र जिल्ला निर्वाचन अनुगमन तथा व्यवस्थापन समितिको तर्फबाट निर्वाचन आयोग समक्ष जाहेर गर्ने वचन दिए । निर्वाचन आयोगले फागुन ५ गते वेबसाइडमा सूचना जारी गर्दै मतदाता परिचयपत्र हराए वा नष्ट भएमा फागुन २० गतेभित्र सरोकारवाला स्वयम्ले सम्बन्धित वडा कार्यालयको सिफारिससहित आफ्नो मतदातामा नामावली रहेको जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने भनेको छ ।


आयोगले जारी गरेको त्यो सूचनाको म्याद ज्यादै थोरै भएको र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने व्यवस्थाले प्रक्रिया झन्झटिलो बनाएको भन्दै नुवाकोटका राजनीतिक दलले आयोगको त्यो निर्णय सच्याउन जोड दिएका छन् । राजनीतिक दलको अन्तक्र्रियामा सहभागीले आयोगले यसका लागि म्याद थप गर्न र वडा सिफारिस नभई मतदाता आफैँले परिचयपत्र हराएको भनी निवेदन दिन पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । निर्वाचन दिवस आयोगले ०७३ देखि मनाउन सुरु गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रबहादुर सुस्लिङले जानकारी दिए । ‘निर्वाचन सबै सधैँ सँगै’ भन्ने नारा निर्वाचन दिवसको रहेको छ । निर्वाचन अधिकारी जयप्रसाद गौतमले अन्तक्र्रिया कार्यक्रममा निर्वाचन दिवसको औचित्य, जिल्ला निर्वाचन कार्यालयले गरिरहेको तयारीको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुने र निर्वाचन अधिकृतको कार्यालय छुट्टै हुने उक्त कार्यालयले सबै निर्वाचनको गतिविधि सञ्चालन गर्ने बताए ।