रसुवागढी हाइड्रोपावरमा उपकरण जडान कार्य तीव्र

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:३५

  • सरस्वती न्यौपाने

धुन्चे: रसुवाको उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य अहिले तीव्र रूपमा अगाडि बढिरहेको छ ।


आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य अहिले धमाधम अगाडि बढिरहेको हो । भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीनवटा टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इन्जिनियर महेन्द्र यादवले जानकारी दिए । एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा भोइथ भारतीय कम्पनीले पाएको छ । उक्त कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले उपकरण जडान गरिरहेका छन् । उपकरण जडान कार्य दैनिक १२ घन्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम सम्पन्न भइसकेको छ । रसुवागढीनजिक भोटेकोसीमा बाँध बाँधेर विद्युत्गृहमा प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार एक सय ८५ मिटर हेड्ररेस सुरुङ संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । उपकरण जडानका साथ–साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको उनले बताए । आयोजनाले भोटेकोसी–दालगाउँ पाँच किलोमिटर, रोङ्गा–थुमन १३ किलोमिटर सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दाहालगाउँमा विद्यालय भवन, टिमुरेबजारमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरिसकेको छ ।