प्रथम शिवपुरी वडाकप फुटबल फागुन १३ देखि १७ सम्म

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:४२

शेराबगर: ‘शिवपुरीको शान, युवा खेलाडीको पहिचान’ भन्ने मूल नाराका साथ शेराबगर विकास समाजले आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता फागुन १३ गते भोलि शुक्रबारदेखि १७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।


शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिकासमेत सार्वजनिक गरिएको छ । गाउँपालिकाको आठवटा वडामध्ये सातवटा वडाले भाग लिने प्रतियोगिताको समूह ‘ए’मा तीनवटा वडा र समूह ‘बी’ मा चारवटा वडाका टिम रहेका छन् । लिगकम नकआउट नाइन ए साइड ढाँचामा शिवपुरी रंगशालामा प्रतियोगिता हुनेछ । सार्वजनिक खेल तालिकाअनुसार समूह ‘ए’ मा वडा नं. ४, वडा नं. २ र वडा नं. ६ रहेका छन् । त्यस्तै, समूह ‘बी’मा वडा नं. ५, वडा नं. ३, वडा नं. ७ र वडा नं. १ रहेका छन् । वडाभित्र रहेका खेलाडी मात्र भाग लिनुपर्ने आयोजकको नियम भएकाले वडा नं. ८ ले भने खेलाडी नपुगेका कारण भाग लिएन । प्रतियोगिताको पहिलो खेल फागुन १३ गते बिहान साढे ८ बजे वडा नं. ४ र वडा नं. २ बीच हुनेछ । त्यसपछि औपचारिक उद्घाटन कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन दिउँसो साढे १२ बजे वडा नं. ५ र वडा नं. ३ बीचको खेल हुनेछ भने अर्को खेल दिउँसो ३ बजे वडा नं. ७ र वडा नं. १ बीच हुनेछ ।


प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । साथै, हरेक खेलका म्यान अफ दी म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका खेलाडीको पहिचान, उनीहरूको क्षमता अभिवृद्धि, खेलको माध्यमबाट शिवपुरी गाउँपालिका र शिवपुरी रंगशालाको प्रचार–प्रसार गर्नु प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य रहेको शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए । खेलतालिका सार्वजनिक कार्यक्रममा शिवपुरी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर थापा, एन्फा रेफ्री सुकराज घले र प्रकाश सिटौला तथा सहभागी सातवटै वडाका टिम क्याप्टेन उपस्थित थिए ।