गणेश पण्डित स्मृति केन्द्र स्थापना

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:५१

विदुर: नुवाकोटका वामपन्थी नेता एवम् पूर्वसांसद स्वर्गीय गणेश पण्डितको योगदानको स्मरण गर्न र उनको विचार, उनले अघि सारेका कामलाई अगाडि बढाउन गणेश पण्डित स्मृति केन्द्र स्थापना भएको छ । केन्द्रले फागुन ९ गते विदुरमा पत्रकार सम्मेलन गरेर संस्था स्थापनाको जानकारी दिँदै संस्थाको औचित्य र उद्देश्य सार्वजनिक गरेको थियो । केन्द्रले पण्डितको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने बताएको छ ।


पण्डितको स्मृतिमा स्थापित गणेश पण्डित स्मृति केन्द्रले स्व. पण्डितको व्यक्तिगत जीवनीदेखि सामाजिक, शैक्षिक, राजनीतिक जीवनी पुस्तकमा समेटिए पुस्तकको तयारी अन्तिम चरण पुगेको केन्द्रका अध्यक्ष कुमार पण्डितले जानकारी दिए । सोमबार विदुरमा केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा स्मृति केन्द्रको औपचारिक स्थापनाको जानकारीको साथै केन्द्रको उद्देश्य र कार्ययोजनाहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा पूर्वप्रशासक तथा इतिहासकार रेशमबहादुर पाण्डेले सरकारले स्वर्गीय पण्डितको योगदानलाई कदर गर्दै राष्ट्रिय व्यक्तित्व घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । स्वर्गीय पण्डित नुवाकोटको वाम आन्दोलनमा अग्रणी नेतृत्वकर्तामा मानिन्छ । वि.सं. ०४८ सालमा सांसदसमेत बनेका नेता पण्डितले मुलुकको शिक्षा, विकास र विभेद उन्मूलनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


वि.सं. २००३ साउनमा नुवाकोटको शिखरबेसीमा जन्मेका नेता पण्डितको हृदयघाटका कारण ०७६ साल फागुन २१ गते निधन भएको थियो । स्मृति केन्द्रको उपाध्यक्षमा बालकृष्ण आचार्य, सचिवमा नरहरि पण्डित, कोषाध्यक्षमा दिनेश पण्डित रहेका छन् । यस्तै, सदस्यमा शिवबहादुर भण्डारी, इन्द्रबहादुर पण्डित, रामप्रसाद प्याकुरेल, दामोदर थापा, ध्रुवप्रसाद मिश्र, कमला महत, बन्दना पण्डित, कल्पना गौतम पण्डित र आस्था पण्डित रहेका छन् ।