सहकारी सङ्घको तरकारी तथा फलफूल बजार

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:२४

विदुर: जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ ।


जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजारको आइतबार जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपानेले शुभारम्भ गरेका छन् । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले बजार सुरु गरिएको अध्यक्ष न्यौपानेले बताए । तरकारी बजारमा किसानले उचित मूल्यमा तरकारी बिक्री गर्न सक्ने र उपभोक्ताले सुलभ मूल्यमा खरिद गर्न सक्ने अध्यक्ष न्यौपानेले उल्लेख गरे । सङ्घले लकडाउनको अवधिमा घुम्ती रूपमा सञ्चालन गरेको सुलभ तरकारी तथा फलफूल बजारलाई सङ्घकै भवनबाट स्थायी रूपमा सञ्चालन आरम्भ गरेको हो । कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले जिल्लामा उत्पादित तरकारी तथा फलफूल बारीमै कुहिने अवस्था र उपभोक्ताले सहज मूल्यमा नपाउने समस्यालाई समाधान गर्न सङ्घले अघिल्लो लकडाउनबाट घुम्ती तरकारी बजार सञ्चालनमा ल्याएको थियो ।


सङ्घले नुवाकोट जिल्लाको शिवपुरी, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाभित्र रहेका कृषि सहकारीसँग समन्वय गरेर तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए । सहकारी बजार विकास कार्यक्रमको सहयोगमा जिल्ला सहकारी सङ्घद्वारा निर्मित भवनमा बजार सञ्चालन गरिएको हो । तरकारी बजारमा जिल्लामा उत्पादित आलु, काउली, बन्दा, मुला, गोलभेँडालगायतको मौसमी तथा बेमौसमी तरकारीसमेत बिक्री भइरहेको छ । बजारमा तरकारी तथा फलफूलको मूल्यमा एकरूपता नभइरहेको समयमा सहकारी सङ्घले सञ्चालन गरेको तरकारी बजारले मूल्यमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ ।