केन्द्रीय कारागारको निर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:३७

पीपलटार: नुवाकोटको विदुर नगरपालिका– ६ खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी अनुगमन गत हप्ता गरेको थियो । कारागार निर्माणकार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ ।


जिल्ला कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले निर्माणाधीन कारागारको भौतिक पूर्वाधार निर्माणतर्फ ९० प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको जानकारी दिए । उनले दिएको जानकारीअनुसार चैत मसान्तसम्ममा काम सक्नुपर्ने भए पनि एउटा युनिटको दुई ब्लकमा पाँच-पाँच सय कैदी राख्ने गरी निर्माणकार्य भइरहेको छ । करिब पाँच सय ४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउन लागेको छ । सिसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा पोस्ट, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण भइरहेको छ । कारागार प्रमुख योगीले बताएअनुसार पहिलो चरणमा काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ । गत हप्ता भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले ठेकेदार कम्पनीसँग छलफल गरेर कार्य प्रगति साप्ताहिक रूपले बुझाउने सहमति भएको छ । निर्माणकार्यका लागि आवश्यक सहयोग भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।


माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना भए पनि कोरोना सङ्क्रमण महामारीका कारण दुई महिना ढिलो भएको छ । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले जानकारी दिए । निर्माणाधीन खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरीजस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको छ । अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री–वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा हुनेछ । उक्त कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । मुलुकका ७४ वटा कारागारमा करिब २८ हजार कैदीबन्दी छन् । विभागका अनुसार ती कारागारको क्षमता करिब १० हजार ७० भए पनि १८ हजार थप राखिएका छन् । सुन्धारामा रहेको जगन्नाथ देवल कारागारमा दुई हजारभन्दा बढी कैदीबन्दी छन् । यसको क्षमता साढे आठ सय मात्र हो । त्यस्तै, ललितपुरको नख्खु कारागारमा एक सय ७० जना अटाउन सक्ने भए पनि साढे पाँच सयभन्दा बढी छन् । डिल्लीबजारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।