एमाले पहिलो हुने दाबी

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:३८

विदुर: आसन्न स्थानीय तह निर्वाचनको तयारीमा नेकपा एमाले नुवाकोट जुटेको छ । जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र पालिका इन्चार्ज, सहइन्चार्ज, कमिटीका सदस्यलाई आइतबार एमालेले स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण सम्पन्न गरेर कार्यकर्तालाई गाउँकेन्द्रित गरेको छ ।


कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्दै स्थानीय निकाय निर्वाचनमा एमाले पहिलो दल हुने दाबी गरे । अन्य दलले घोषित–अघोषित रूपमा गठबन्धन गर्दासमेत गत ०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो दल भएको स्मरण गर्दै नेता ज्ञवालीले आगामी निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे । प्रशिक्षण कार्यक्रममा आएका उपमहासचिव ज्ञवालीले प्रेस चौतारी नुवाकोटले गरेको पत्रकार भेटघाटमा स्थानीय तहको निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी अर्ली इलेक्सनका लागि एमाले तयार रहेको, तर वर्तमान गठबन्धनको सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउँछ भन्नेमा विश्वस्त हुन नसक्ने बताए । ‘एमाले चुनाव पक्षधर पार्टी हो, यसर्थ चुनाव हुन्छ भनेर मतदातालाई ढुक्क बनाइरहेका छौँ,’ उनले भने । आगामी चुनावका लागि सहयोग गर्न पनि मतदातालाई अनुरोध गर्न गाउँगाउँमा जान उनले जिल्ला नेतालाई निर्देशनसमेत दिए । एमाले एक्लै सबै निर्वाचन सामना गर्न तयार रहेको बताउँदै उनले तोकिएको समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई अनावश्यक रूपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप पनि लगाए । पत्रकार भेटघाटमा एमालेका पूर्वपोलिटब्युरो सदस्य तथा पूर्वपराराष्ट्रमन्त्री नेता महेन्द्र पाण्डेले पनि एमाले जस्तोसुकै परिस्थितिमा पनि निर्वाचनबाट नभाग्ने डटेर सामना गर्ने बताए ।


जिल्ला अध्यक्ष बद्री मैनालीको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा एमालेको पाँच वर्षको उपलब्धि र अनुभव विषयमा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले नेपाल कम्युनिस्ट पार्टी निर्माणमा चिनियाँ अनुभवको विषयमा पूर्वपोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डे, गतिशील पार्टी निर्माण र परिचालन विषयमा पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीराज अधिकारीले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा स्थानीय निर्वाचन २०७९ को तयारीको विषयमा पोलिटब्युरो सदस्य तथा स्कुल विभाग सचिव ईश्वरी रिजालले र कार्यक्रमका प्रमुख अतिथि उपमहासचिव ज्ञवालीले दशौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा विषयमा प्रशिक्षण दिएको एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले बताए । प्रशिक्षण कार्यक्रममा एमाले नुवाकोट इन्चार्ज बिन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सना, संघीय सांसद एवं बागमती प्रदेश सङ्गठन कमिटीका सदस्य नारायणप्रसाद खतिवडालगायत बागमती प्रदेश कमिटीका सदस्यको उपस्थिति रहेको स्कुल विभाग नुवाकोटका प्रमुख यमप्रसाद खतिवडाले जानकारी दिए । एमालेले मंगलबार विदुर नगर कमिटीको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटीका अध्यक्ष नवीन प्रधानको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाले शपथग्रहण गराएकी थिइन् । सो कार्यक्रममा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष बद्री मैनाली, उपाध्यक्ष बुद्धिबहादुर प्रधानलगायतले एमालेको आगामी चुनावी रणनीतिबारे बोलेका थिए । शपथग्रहणपछि भएको प्रशिक्षण कार्यक्रममा स्कुल विभागका केन्द्रीय सदस्य रामशरण प्याकुरेल र स्कुल विभागका नुवाकोट प्रमुख यमप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए ।


एमाले विदुर नगरपालिका– ८ कमिटीको कार्यालय उद्घाटन आइतबार एमालेका पूर्वपोलिटब्युरो सदस्य एवम् पूर्वपराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका थिए । वडा कमिटीका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा वडाका १६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा लीलाकुमारी अधिकारी, मीनबहादुर श्रेष्ठ, उत्तम केसी, टेकबहादुर ओझा, टेकबहादुर श्रेष्ठ, टेकबहादुर गौतम, पहलबहादुर गौतम, झुण्डीराज अधिकारी, यज्ञप्रसाद पौडेल, बुद्धिनाथ रिजाल, रामजी रिजाल, कर्णबहादुर लामिछाने, यकबहादुर दर्जी, दानबहादुर बस्नेत, डम्मरुप्रसाद रिजाल, अनन्तप्रसाद रिजाल रहेका छन् ।