केन्द्रिय कारागारको निर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • २७ फाल्गुन २०७८, शुक्रबार १३:१६

पिपलटार, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.६ खम्पाक्याम्पमा निर्माण भईरहेको केन्द्रिय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालय अन्र्तगतको कारागार ब्यवस्थापन विभागले एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारी अनुरूप प्राविधिक तथा सुरक्षा ब्यवस्था सम्बन्धी अनुगमन गत हप्ता गरेको थियो । कारागार निर्माण कार्य अहिले तिव्र गतिमा अगाडी बढिरहेको छ ।

जिल्ला कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले निर्माणाधीन कारागारको भौतिक पूर्वाधार निर्माणतर्फ ९० प्रतिशत काम सम्पन्न भई सुरक्षा ब्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भईरहेको जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार चैत्र मसान्तसम्ममा काम सक्नुपर्ने भएपनि एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भईरहेको छ । करीव ५ सय ४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउन लागेको छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा पोष्ट, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण भईरहेको छ । कारागार प्रमुख योगीले बताएअनुसार पहिलो चरणमा काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ । गत हप्ता भवन विभाग, कारागार विभागका प्रतिनिधी र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले ठेकेदार कम्पनीसँग छलफल गरेर कार्य प्रगति साप्ताहिक रूपले बुझाउने सहमति भएको छ । निर्माण कार्यको लागि आवश्यक सहयोग भवन विभाग, कारागार विभागका प्रतिनिधी र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सहयोग र सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना भएपनि कोरोना संक्रमण महामारीका कारण दुई महिना ढिलो भएको छ । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबिच सुरक्षा ब्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको कारागार ब्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले जानकारी दिनुभयो । निर्माणाधीन खम्पाक्याम्प कारागारमा झण्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भईरहेको छ । नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सिप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढंगले निर्माण गरिएको छ । अस्पताल, पुस्तकालय, ब्यायामशाला, योगशाला, ध्यान केन्द्र, सिप तालिम केन्द्र र हस्तकला बिक्री, वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा हुनेछ । उक्त कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रज्जनन अधिकारबाट वञ्चित दम्पति कैदैबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । मुलुकका ७४ वटा कारागारमा करीव २८ हजार कैदीबन्दी छन् । विभागका अनुसार ती कारागारको क्षमता करीव १० हजार ७० भएपनि १८ हजार थप राखिएका छन् । सुन्धारामा रहेको जगन्नाथ देवल कारागारमा दुई हजार भन्दा बढी कैदीबन्दी छन् । यसको क्षमता साँढे आठ सय मात्र हो । त्यस्तै ललितपुरको नख्खु कारागारमा १ सय ७० जना अटाउन सक्ने भएपनि साँढे पाँच सय भन्दा बढी छन् । डिल्लीबजारमा पनि क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् ।