कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:१४
  • सुनिल श्रेष्ठ

कालिकास्थान, रसुवा जिल्लाको कालिका गाउँपालिकामा शनिबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ देखि चालू आर्थिक वर्ष ०७८/७९ को माघ महिना अवधिमा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।

कालिका हिमालय क्याम्पस परिसरमा भएको कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष सीताकुमारी अधिकारीले समग्र पालिका तथा गाउँपालिकाभित्र बसोवास गर्ने व्यक्तिको हित प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले नीति, नियमको तर्जुमा गर्ने तथा कार्यान्वयन, स्रोत–साधनको व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा कार्य गर्दै आइरहेको बताइन् । साथै, अध्यक्ष अधिकारीले गाउँपालिकाबाट दैनिक भ्रमण, अनुगमन तथा मूल्याङ्कनलगायत विभिन्न शीर्षकमा बैंकिङ कारोबारबाट मात्र पारिश्रमिक भत्ता बुझेको बंैकिङ विवरणसहित शीर्षकगत विवरण सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका रेवकुमार पौडेल, नेकपा एमालेका भरतप्रसाद न्यौपाने, नेकपा एकीकृत समाजवादीका विष्णु देवकोटा, जनता समाजवादीका कृष्णबहादुर तामाङलगायतले गाउँपालिकाले प्रदान गर्दै आइरहेको सेवा प्रवाहबाट नागरिक सन्तुष्ट रहेको बताएका थिए ।

कार्यक्रममा विषयगत शाखाका प्रमुखले आ–आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । सहभागीले चार वर्ष १० महिना कार्यकालको स्वास्थ्य, कृषि, पशु, शिक्षालगायतको सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाव दिएका थिए । सहभागीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत वाचस्पति सुनुवारको साथै कार्यपालिकाका विषयगत शाखाका प्रमुखले दिएका थिए । कालिका गाउँपालिकाको आयोजनामा तथा रेडियो लाङटाङको सहजीकरणमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाका साथै स्थानीयवासीको उपस्थिति रहेको थियो ।