+
Search

ताजा अपडेट +

पपुलर +

कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

त्रिशूली प्रवाह
४ साल अगाडी
  • सुनिल श्रेष्ठ

कालिकास्थान, रसुवा जिल्लाको कालिका गाउँपालिकामा शनिबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ देखि चालू आर्थिक वर्ष ०७८/७९ को माघ महिना अवधिमा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।

Utsuk Books & Stationery

कालिका हिमालय क्याम्पस परिसरमा भएको कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष सीताकुमारी अधिकारीले समग्र पालिका तथा गाउँपालिकाभित्र बसोवास गर्ने व्यक्तिको हित प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले नीति, नियमको तर्जुमा गर्ने तथा कार्यान्वयन, स्रोत–साधनको व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा कार्य गर्दै आइरहेको बताइन् । साथै, अध्यक्ष अधिकारीले गाउँपालिकाबाट दैनिक भ्रमण, अनुगमन तथा मूल्याङ्कनलगायत विभिन्न शीर्षकमा बैंकिङ कारोबारबाट मात्र पारिश्रमिक भत्ता बुझेको बंैकिङ विवरणसहित शीर्षकगत विवरण सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका रेवकुमार पौडेल, नेकपा एमालेका भरतप्रसाद न्यौपाने, नेकपा एकीकृत समाजवादीका विष्णु देवकोटा, जनता समाजवादीका कृष्णबहादुर तामाङलगायतले गाउँपालिकाले प्रदान गर्दै आइरहेको सेवा प्रवाहबाट नागरिक सन्तुष्ट रहेको बताएका थिए ।

कार्यक्रममा विषयगत शाखाका प्रमुखले आ–आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । सहभागीले चार वर्ष १० महिना कार्यकालको स्वास्थ्य, कृषि, पशु, शिक्षालगायतको सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाव दिएका थिए । सहभागीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत वाचस्पति सुनुवारको साथै कार्यपालिकाका विषयगत शाखाका प्रमुखले दिएका थिए । कालिका गाउँपालिकाको आयोजनामा तथा रेडियो लाङटाङको सहजीकरणमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाका साथै स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह