तेक्वान्दो स्थापना दिवस

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:४१

बट्टार, नुवाकोटमा तेक्वान्दो स्थापना भएको २८ वर्ष पूरा भएको छ । २८औँ स्थापना दिवसको अवसरमा गत फागुन २७ गते नुवाकोट तेक्वान्दो सङ्घले सरोकारवालाको उपस्थितिमा खेलाडीको सहभागितामा स्थापना दिवस मनाएको थियो ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यतामा २८औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाको सभापत्विमा सम्पन्न वार्षिकोत्सवमा प्रमुख अतिथि कार्कीले तेक्वान्दो खेलले जिल्ला र राष्ट्रको नाम उच्च राख्न सफल भएको बताए । तेक्वान्दो खेलले शारीरिक र बौद्धिक क्षमता अभिवृद्धि गर्ने भएकाले विद्यार्थीलाई सहभागी गराउनुपर्नेमा उनले जोड दिए । जिल्लामा तेक्वान्दोको स्थापनाको २८ वर्षमा ब्ल्याकबेल्ट खेलाडी चार सयभन्दा बढी उत्पादन गरेको, नुवाकोटका तेक्वान्दो खेलाडी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले बताए । कार्यक्रममा नुवाकोट तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष धननारायण चित्रकार, उपाध्यक्ष अशोक थापा, प्रमुख प्रशिक्षक हरिहर पाण्डेले तेक्वान्दो खेललाई १२ वटै पालिकामा विस्तार गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा केक काटेर वार्षिकोत्सवको उद्घाटन गरिएको थियो । सङ्घका पदाधिकारीले सो अवसरमा खेलाडीलाई रात्रिभोजको समेत व्यवस्था गरेको थियो ।