नेपाल र चीन सीमा सुरक्षा अधिकारीको बैठक रसुवागढी नाकाबाट आयात बढाउन चीन सहमत

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १५:४१
  • सरस्वती न्यौपाने

धुन्चे, विगत दुई वर्षदेखि चीनको एकतर्फी अघोषित नाकाबन्दीले नेपालको रसुवागढी नाकाबाट न्यून माल-सामान आयात भइरहेको छ । चिनियाँ पक्षले नेपाली सामान र नेपाली व्यापारीलाई प्रवेशमा लगाएको रोक अहिलेसम्म खुला गरेको छैन । गत हप्ता नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी र चीनको केरुङस्थित जिलङ प्रान्तका सीमा अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रिने चिनियाँ सामग्रीको आयात परिमाण बढाउन चिनियाँ पक्ष सहमत भएको छ ।

सामग्रीको परिमाण बढाउन कन्टेनर निर्यात रसुवागढी नाकाबाट प्रतिदिन नौ कन्टेनर सामान आयात हुँदै आइरहेकोमा फागुन २६ गते बिहीवार नेपाल र चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच सम्पन्न वार्तामा २५ कन्टेनर आयात हुने व्यवस्था मिलाउन आग्रह गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार नेपाल र चीन दुवै पक्षबीच भर्चुअल वार्ताबाट चिनियाँ नाकाबाट चिनियाँ सामान मात्रै एकतर्फी आयात भइरहेकाले नेपाली सामान चीनतर्फ निर्यातको व्यवस्था मिलाउन छलफल भएको थियो । भर्चुअल बैठकमा नेपालका तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी जैसीलगायत सुरक्षा निकाय तथा भन्सार अधिकारी र चीनका तर्फबाट चिनियाँ सरकारी अधिकारीबिच वार्ता भएको थियो । कोरोना नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण केरुङमा रहेका नेपालीले भाडा तिर्न नसकेको र घर फर्कन नपाएकाका लागि सहजीकरण गरिदिन आग्रहसमेत नेपाली पक्षले गरेको थियो । कोभिड-१९ को कारण ०७६ माघ २५ देखि ०७७ जेठ २२ सम्म रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको थियो । त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ । सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड-१९ को नियन्त्रण एवम् रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डढेलो नियन्त्रण गर्न विशेष पहल गर्न नेपाली पक्षले आग्रह गरेको थियो । बैठकमा सहभागी चीनका ची लोङ काउन्टीका मेयर ता छोनले नेपाल पक्षको मागबमोजिम नाकाबाट सामग्रीको आयात बढाउने विषयमा चीन तयार रहेको बताए ।