२०७९ सालमा ४३ दिन सार्वजनिक बिदा

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १५:४४

विदुर, नेपालमा आगामी ०७९ सालमा सार्वजनिक र शनिबार गरी ९५ दिन बिदा हुने भएको छ । आगामी वर्ष सार्वजनिक बिदाबाहेक ५२ वटा शनिबार परेका छन् । नेपाल सरकारले आगामी वर्ष ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलले आगामी वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए । गौरा पर्व, महाशिवरात्रि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस शनिबारकै दिन परेकाले बिदा जोगिएको छ । उनका अनुसार आगामी वर्षभरिमा विभिन्न चाडपर्वका लागि २० दिन, महिला कर्मचारीका लागि दुई दिन, शिक्षण संस्थाका लागि एक दिन, काठमाडौं उपत्यकाका लागि मात्र चार दिन, दसैँ बिदा ६ दिन, तिहार बिदा पाँच दिन, सबैका लागि पाँच दिन विभिन्न दिवस बिदा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका व्यक्तिका लागि एक दिन र विभिन्न जन्मजयन्तीका लागि तीन दिन बिदा दिएको छ ।

विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदाअनुसार बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन गर्न सक्नेछन् । मन्त्रालयका अनुसार नेपाल सरकारले तोकेका सार्वजनिक बिदाबाहेक विभिन्न प्रदेश सरकारले प्रदेशको धर्म-संस्कृतिअनुसार बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सङ्घीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ । सरकारले धेरै बिदा दियो भनेर सर्वत्र आलोचना भइरहे पनि बिदा घटाउन सरकारले सकेको छैन । बिदाले गर्दा नेपालको कर्मचारीतन्त्र अल्छी र जिम्मेवार बन्न नसकेको चर्चा हुँदै आएको छ ।