६ जना संरक्षणकर्मी सम्मानित

  • त्रिशूली प्रवाह
  • १० चैत्र २०७८, बिहीबार १२:३६
  • सरस्वती न्यौपाने

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्जको ४६औँ वार्षिकोत्सवको अवसरमा बुधबार ६ जना संरक्षणकर्मी सम्मानित भएका छन् ।

निकुञ्ज क्षेत्रको संरक्षणको पाटोमा महत्वपूर्ण योगदान पु¥याई सहयोग गर्ने जिवाइटिटिएसका अध्यक्ष प्रमोदकुमार तितुङ, कल्पेश्वरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पूर्वअध्यक्ष दीपक खनाल, लाङटाङ राष्ट्रिय निकुञ्जका गेम स्काउट घनबहादुर घले, विष्णुदल गणका सुवेदार रेवतकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्मका हवल्दार केशव अधिकारी, नेपाल प्रहरीका प्रहरी जवान प्रकाश प्रजन रहेका छन् । सम्मानित हुनेलाई नगद चार हजारसहित प्रशंसापत्र प्रदान गरिएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

सो अवसरमा निकुञ्ज क्षेत्रभित्र विभिन्न समयमा पशुधन क्षति, अन्नबाली क्षति भएका किसानलाई राहतसमेत वितरण गरिएको थियो । कालिका गाउँपालिका-१ का सोमबहादुर तामाङको अन्नबाली क्षति भएबापत १० हजार, कालिका गाउँपालिकाकै बुद्धे तामाङको चारवटा बाख्रा क्षतिबापत ३० हजार, सोही वडाका मंगले तामाङलाई ७५ हजार, गोसाइँकुण्ड गाउँपालिका-६ का कर्म वाङ्जु तामाङको अन्नबाली क्षतिबापत १० हजार अर्काे श्रीलाल तामाङको ६ वटा बाख्रा क्षतिबापत ४५ सयको चेक पाए । ०३२ साल चैत ९ गते वन, वनस्पति, वातावरण, वन्यजन्तुको संरक्षण गर्ने हेतुले स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको एक हिमाली राष्ट्रिय निकुञ्ज हो ।