- हेमनाथ खतिवडा
धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वबापतको कार्यक्रम नगरेपछि स्थानीयले शुक्रबारदेखि अवरोध गरेका छन् ।
सालासुङ्गी वाटर प्रा.लि. र स्थानीय तथा आमाछोदिङ्मो गाउँपालिका-५ वडा कार्यालयसँग ०७८ असार २० गते गरेको सम्झौतामा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा वातावरण संरक्षणमा समेत काम नगरेको स्थानीयको गुनासो छ । आयोजनास्थलमार्ग निर्माणका क्रममा धेरै जङ्गल विनाश भएको र १० वटा खर्कमा क्षति पुगेकाले त्यहाँ गाई, चौँरी तथा भेडा, बाख्रापालक किसानलाई चरिचरनका लागि खर्क समस्या भएको छ । सडक निर्माणका कारण ठूला ढुङ्गाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिएकाले २७ जना चौँरी तथा भेडापालक किसान पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । आयोजनाले सडक निर्माण गर्दा खर्क मासिएकाले पशुपालन गर्नेलाई अहिले समस्यामा परेको छ । तर, आयोजनाले कुनै सम्बोधन नगरेको स्थानीय चौँरीपालक किसान सोनामनुर्पु तामाङले बताए । उनले भने, ‘हिउँ पर्ने मौसममा चौँरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन थियो, अहिले त खर्क मासियो, जङ्गलमा चरन खोज्न जाने बाटोसमेत छैन ।’ आयोजनाले वातावरण विनाश गरेको छ, पहिले त कृृषक समूहलाई समेटेर कार्यक्रम गर्ने भनेको आयोजनाले वास्ता नगरेको कृषक छेवाङ तामाङले बताए ।
कम्प्युटर अप्रेटर तथा दुईजना शिक्षक नियुक्ति भए पनि नौ महिना बित्दा पनि तलब नदिएको, माथिल्लो रोङ्गामा ड्यामसाइड निर्माणका क्रममा खोलो अवरुद्ध हुने गरी माटो थुपारेकोले वर्षात्मा समस्या पर्ने अवस्था रहेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत धेरै योजना सम्झौताअनुसार काम अगाडि बढाउन वडा कार्यालयले पत्रचार गरे पनि प्रत्युत्तरबाहेक केही नपाएको र सर्वदलीय बैठक बस्ने बाहना बनाउने गरेको आमाछोदिङ्मो गाउँपालिका-५ का अध्यक्ष टासी छेवाङ तामाङ (बाबु) ले बताए । स्थानीयको माग सम्बोधन नगरेपछि काममा अवरोध भएको सूचना पाएकोसमेत उनले बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत भएको सम्झौताअनुसार काम नगरेकाले आयोजना प्रभावित विरोधमा उत्रेका छन् । निर्माणाधीन माथिल्लो साङ्जेन आयोजनाभन्दा पाँच सय मिटरमाथि यस आयोजनाको विद्युत्गृह निर्माण हुन लागेको छ । नेपाली साझेदार सालासुङ्गी पावरको आठ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी रहेको छ । आयोजना टनेल चार किलोमिटर र पेनस्टकसमेत सात किलोमिटर रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किलोमिटर सडक निर्माणको काम भइसकेको छ ।
स्थानीय तहले समयमै जानकारी गराउँदा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले गर्नुपर्ने कामप्रति बेवास्ता गरेपछि आयोजनाको काम रोक्नु स्थानीयको बाध्यता भएको सुरेश तामाङले बताए । केही व्यक्तिले निहित स्वार्थ पूरा गर्नका लागि आयोजना बन्द गरिएको सालासुङ्गी पावर प्रा.लि.का नेपाली लगानीकर्ता विष्णुराज अधिकारीले बताए । स्थानीयको नाममा यसअघि पनि पटक-पटक काम गर्न अवरोध हुँदै आएको छ । बिनाअवरोध काम अघि बढे आयोजना दुई वर्षमा सकिने उनको दाबी छ । अवरोधको समयमा कन्ट्र्याक्टर कम्पनी सिनो हाइड्रोले दैनिक क्षतिपूर्ति दाबी गरिरहेको छ । केही व्यक्तिले उक्साएर आयोजनामा अवरोध गरेको उनको आरोप छ । चिनियाँ कम्पनी सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न तयार छ, तर स्थानीयले अवरोध होइन समन्वय गरिदिन उनले आग्रह गरे ।
प्रतिक्रिया