+
Search

ताजा अपडेट +

पपुलर +

चुनावी वाचा पूरा गर्दै मेयर पण्डित भेटेरेनरी डाक्टरसहितको प्रयोगशाला विदुरमा

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटको १२ वटा पालिकामध्ये विदुर नगरपालिकाले पशुपक्षीका लागि भेटेरेनरी डाक्टरसहितको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै कृषि र पशुसेवा केन्द्र बन्द रहेको थियो । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले चुनाव प्रचार-प्रसारको क्रममा गरेको वाचाअनुसार भेटेरेनरी डाक्टरसहित प्रयोगशाला विगत पाँच महिनादेखि सञ्चालनमा आएको छ ।

जिल्लामा सङ्घीय सरकारअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रमा सीमित पशुपक्षीको प्रयोगशालासहितको सेवा नगरपालिकाले सञ्चालनमा ल्याएको हो । रसुवा, नुवाकोट र धादिङका पालिकामध्ये विदुर नगरपालिका भेटेरेनरी डाक्टरसहितको प्रयोगशाला सेवाको सञ्चालन गर्ने पहिलो हो । सोमबार नगरपालिकाका मेयर सञ्जु पण्डितले भेटेरेनरी प्रयोगशालाको विधिवत उद्घाटन गर्दै कृषि तथा पशुसेवा क्षेत्रको समृद्धिले नै नगरपालिकाको कायपलट हुने बताए । नगरपालिकामा पशुविज्ञको दरबन्दी नभए पनि कार्यपालिकाको बैठकले दरबन्दी सिर्जना गरेर बजेट छुट्याएपछि चालू आ.व.को दोस्रो चौमासिकदेखि भेटेरेनरी डाक्टरसहितको प्रयोगशाला सञ्चालन गरेको बताए । त्यसैले प्रविधि, प्राविधिक र सरकारी स्रोत, कृषक, कृषकको पहुँचमा पुग्ने किसिमले काम गरिरहेको उनको भनाइ छ । नगरपालिकाले कृषि सेवा केन्द्र सञ्चालन गरेर माटो परीक्षण, औजार उपकरण, घाँस, तरकारी, खाद्यान्नका बिउ–बिजन, फलफूलका बिरुवा र कृषि परामर्श दिँदै आएको छ । सङ्घीयता कार्यान्वयन आएसँगै बन्द भएको नगरपालिका-७ तुप्चेको कृषि सेवा केन्द्र र नगरपालिका-५ देवीघाटको पशु सेवा केन्द्र यसै आवदेखि सञ्चालनमा नगरपालिकाले आन्तरिक बजेटबाट ल्याएको बताउँदै उनले भने, ‘०७४ को निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धताअनुसार कृषि र भेटेरेनरी क्षेत्रमा प्राथमिकताका साथ काम गरेँ ।’ हामी निर्वाचित भएपछि नगरमा कृषि तथा पशुपक्षी व्यवसायलाई टेवा पुग्ने गरी बिमा कार्यक्रम, कृषि अनुदान, औजार, उपकरण, गोठ सुधार, खोर सुधार, बोयर बोका वितरणलगायत टनेल खेती गर्नेलाई सहयोग गरिरहेको उनले बताए ।

प्रयोगशाला उद्घाटनको अवसरमा उपमेयर गीताकुमारी दाहालले प्रयोगशाला सञ्चालनमा आएपछि कुखुराको पोस्टमार्टम गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन् । प्रयोगशालामा कुखुराको पोस्टमार्टम गरेर रोगको पहिचान र निदान गर्न सहज भएकाले रोगको कारण व्यवसायीले व्यहोर्नुपर्ने क्षति कम भएको बताइन् । नगरको पशुसेवा केन्द्रले डाक्टरको परामर्श, परीक्षणसँगै प्रयोगशालाबाट रोग निदानको साथै केही औषधिसमेत निःशुल्क पाइरहेका छन् । नगरपालिकाले सञ्चालन गरेको प्रयोगशाला र परामर्श लिन रसुवा, धादिङका केही र नुवाकोटका ११ वटै पालिकाबाट आउने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । नगरपालिकामा स्थानीय सरकार सञ्चालनमा आएसँगै पशुपक्षी तथा कृषि व्यवसायबाट स्वरोजगार हुनेको सङ्ख्या बढिरहेकाले प्राथमिकतामा बजेट विनियोजन गरिएको उनले बताए । नगरपालिकामा पशुसेवा शाखामा एकजना भेटेरेनरी डाक्टर र दुईजना पशु प्राविधिक रहेका छन् । नगरको प्रयोगशालाबाट गोबर परीक्षण, बर्ड फ्लुलगायत अन्य रोगको परीक्षण, पशुपक्षीमा हुने थुनिलो रोग, बाँझोपन निवारण, कृत्रिम गर्भधानसहित औषधि वितरण, खोप, इन्जेक्सनको सुविधा पाइरहेको जानकारी डा. सनम महर्जनले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । पशु उपचार सेवा तथा ल्याब परीक्षणका लागि गाईभैँसी, बाख्रा, भेडा, सुँगुर, बंगुर, कुकुर, बिरालो, जङ्गली जनावर, साना जनावर, ठूला जनावरका लागि टिकट शुल्क नगरभित्र र नगरपालिकाबाहिरका लागि १५ रुपैयाँदेखि तीन सय रुपैयाँसम्म रहेको छ । नगरवासीका लागि भने न्यूनतम शुल्क तोकिएकोसमेत उनले जानकारी दिए । नगरको प्रयोगशालामा दैनिक ५० जनाभन्दा बढी परीक्षण तथा परामर्शका लागि ५० जनाकै हाराहारीमा आउने गरेकोसमेत डा. महर्जनले बताइन् । नगरभित्र भने गाउँ, टोलमै पुगेर पनि पशु प्राविधिकले सेवा दिइरहेका छन् । नगरपालिकाको ल्याबबाट कुखुरापालन व्यवसायमा संलग्नले पोस्टमार्टम सेवा लिइरहेको नुवाकोट कुखुरापालन व्यवसायी सङ्घका अध्यक्ष विष्णु रिमालले बताए । पोस्टमार्टम सेवाले रोग निदान गर्न सहज भएकोसमेत उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह