- सुप्रिया क्षेत्री
कोल्फुटार, नुवाकोट र धादिङ जिल्ला जोडिने कोल्फु खोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणका क्रममा चर्किएपछि भत्काउनुपर्ने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको कुमरी र धादिङ जिल्लाको धुनीबेँसी नगरपालिकाको जीवनपुर जोड्ने कोल्फु खोलाको पुलको स्पान ढलानपछि लठ्ठा तन्काउने क्रममा पुल चर्किएको थियो । सडक डिभिजन कार्यालय नुवाकोटले चर्किएको पुल भत्काएर पुनः बनाउन ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि उक्त पुलको चर्चा जिल्ला हुँदै सडक विभागसम्म पुगेको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले निर्माण सम्पन्न भएको पुल भत्काएर पुनः बनाउनुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय नुवाकोटले बताएको छ । कार्यालयले गत हप्ता उक्त पुल भत्काउन ठेकेदार कम्पनीलाई पत्र पठाएको छ । आठ करोड १४ लाखको ठेक्कामा निर्माण व्यवसायीले ६ करोड २३ लाखमा बनाउने सम्झौता गरेको हो । बनिसकेको र स्थानीयले प्रयोगमा ल्याइसकेको उक्त पुल कुनै पनि बेला दुर्घटना हुन सक्ने भनेर कार्यालयले भत्काएर पुनः बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्डअनुसार संरचना निर्माण नभएको पाइएसँगै उद्घाटनको तयारीमा रहेको उक्त पुल भत्काउन कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । गत ०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन र जयबाबा काष्ठमण्डप जेभीले निर्माण गरेको पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए । स्वीकृति डिजाइनमा ३०-३० मिटर रहनुपर्ने स्पान ठेकेदारले आफुखुसी ३२ र २८ मिटरमा बनाएकाले पुलको स्पान ढलान गरेपछि लठ्ठा तन्काउने क्रममा चर्किएको हो । सडक विभाग पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइनअनुसार नभएकाले त्यसलाई भत्काएर पुनः निर्माण गर्न पत्रमा उल्लेख गरिएको छ । ६० मिटरमध्ये ३० मिटर पुलको स्पान भत्काउनुपर्नेछ ।
गत वर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाणभन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको डिभिजन प्रमुख रिमालले बताए । उनले भने – ढलान गरिएको स्पानको लठ्ठा तन्काउँदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर पुलको बाँकी निर्माण काम गर्न थालेपछि भत्काएर अर्को बनाउन कार्यालयले विभागको सहमतिमा निर्देशन दिएको हो । पुल निर्माण सम्पन्न भएको भनेर कार्यालयले ठेकेदारलाई पटक-पटक गरेर चार करोड भुक्तानी दिइसकेको छ । पुल भत्काउन दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य नपार्न डिभिजन प्रमुख रिमालले सचेत गराएका छन् । पुल निर्माणका लागि ६ वर्षअघि आठ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले ६ करोड २३ लाखमा बनाउने गरी सम्झौता गरेको थियो । पुल निर्माणको क्रममा सडक कार्यालयबाट प्राविधिक सहयोग नपाएको पुल सम्पन्न भएर बुझाउने क्रममा कार्यालयले त्रुटि देख्नु अन्याय भएको भन्दै निर्माण व्यवसायी अदालत जाने तयारी गरिरहेको छ । सडक कार्यालयले पुल निर्माणको क्रममा अनुगमन नगरेको, साइट प्राविधिक नपठाएको, स्वीकृति डिजाइनबारे जानकारी नदिएको र कोरोनाको महामारीमा समेत निर्माण गरेको ठेकेदारले बताएको छ । मालबाहक सवारीबाहेक अन्य साना सवारीसाधनमा मानिस आवत–जावत भइरहेको उक्त पुल ठेकेदार अदालत गए बेवारिस हुने स्थानीयले बताएका छन् ।




प्रतिक्रिया