+
Search

ताजा अपडेट +

पपुलर +

म्यादीमा भर्ना हुन युवा उत्साहित

म्यादीमा भर्ना हुन युवा उत्साहित
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सुनिता तामाङ

विदुर, आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा आवश्यक म्यादी प्रहरी भर्नाका लागि आइतबारदेखि आवेदन सङ्कलन भइरहेको छ । नुवाकोटका लागि मात्रै तीन सय २७ जनाका लागि आवेदन सङ्कलन सुरु भएको छ ।

निर्वाचनका लागि नुवाकोटमा आवश्यक म्यादी प्रहरीका लागि म्यादी प्रहरी भर्ना छनोट तथा नियुक्त समिति प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय रहेको छ । चैत ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुने उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा–सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको सात हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।
स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना हुन आवेदन दिनेको भिड आइतबारदेखि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा लागेको छ । आवेदनको पहिलो दिनमा नै उल्लेख भिड लागेको छ ।

म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको पाँच फिट दुई इन्च र ५० केजी तौल, महिलाको हकमा पाँच फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ । स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सरकारले भर्ना आवेदन खुला गरेको हो । म्यादी प्रहरीमा भर्ना हुन नुवाकोटको ग्रामीण भूभागदेखि युवा आएका छन् । पछिल्लो समयको बढ्दो बेरोजगार, गाउँ-गाउँमा रहेका युवा तथा अवकाशप्राप्त सेना तथा प्रहरी म्यादीमा आकर्षित भएका छन् । छोटो समयावधि भए पनि आकर्षक तलब रहेकाले युवाको बढ्दो आकर्षण रहेको हो । म्यादीमा जान स-साना बच्चा भएका आमासमेत लाइनमा थिए । निर्वाचनको सुरक्षार्थ जम्मा ४० दिनका लागि माग गरिएको म्यादी प्रहरीको भर्ना आवेदन फारम चैत ११ गतेसम्म खुला गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह