समाजवादी अरुको साहारामा बिलिन हुँदैन : अध्यक्ष नेपाल

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १४:५९

बट्टार, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबिचको एकता स्थानीय तहको निर्वाचनसम्म कायम रहने दावी गरेका छन् ।

एकिकृत समाजवादी पार्टी नुवाकोट जिल्लाको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नुवाकोट आउनुभएका अध्यक्ष नेपालले गत मंगलबार फागुन ८ गते समाजवादी प्रेस संगठन नुवाकोटले गरेको पत्रकार भेटघाट कार्यक्रममा सत्तारूढ गठबन्धनबिच चुनावी तालमेल कायम रहन्छ भन्नुभयो । शक्तिको उचित मूल्याङ्कन गर्दै बस्तुवादी भएर सयम्ता अपनाएर ‘अरूलाई पनि हामी, हामीलाई पनि अरू’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेको खुलासा गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टी स्थापनाको ६ महिनामा संगठन बिस्तार भईसकेको र उच्च मनोवलका साथ कार्यकर्तालाई काम गर्न निर्देशन दिनुभयो । समाजवादी सबै खालको परिस्थितिको सामना गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘चुनावी गठबन्धनको नाममा अरुको साहारामा बिलिन हुन्नौं ।’’ आफ्नो साहारा र शक्तिमा निर्वाचनमा होमिन तयार रहेको भन्दै नेपालले आफ्नो शक्तिलाई बलियो बनाउनको लागि पार्टी कमिटि निर्माणमा जुटेको बताउनुभयो ।

समाजवादीले गत मंगलबार बट्टारमा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष गोबिन्द नेपालीको सभापतित्वमा सम्पन्न भएको भेलालाई अध्यक्ष नेपालले सम्बोधनको क्रममा भन्नुभयो, ‘‘अहिलेसम्म पाँच दलिय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन । आसान्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भईरहेको छ, तर तालमेल हुने, नहुने कुरा काँग्रेसको हातमा छ । काँग्रेसभित्र तालमेलको कुरा लिएर फरक-फरक कुरा आईरहेको छ । आगामी यात्रा कसरी अगाडी बढ्छ त्यो काँग्रेसकै भूमिकामा निर्वाह हुन्छ ।’’ अध्यक्ष नेपालले भने, ‘‘काँग्रेस तालमेल गर्न तयार भए हामी तयार छौं ।’’