उपप्रमुख महिला प्रमुख बन्ने दौडमा

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १५:४४
  • लक्ष्मी थोकर

विदुर, स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा नुवाकोट जिल्लाको गाउँ, टोल चुनावमय बन्दै गएको छ । दिन प्रतिदिन राजनीतिक दलले चुनाव केन्द्रित कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । स्थानीय तहको नयाँ नेतृत्वमा को आउँला भनेर अड्कलबाजी गाउँटोलमा हुन थालीसकेको छ ।

संघीय शासन प्रणाली लागू भएपछि पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भएको थियो । उक्त निर्वाचनमा महिला पछाडी परेका र पारिएको थियो । संविधानले प्रमुख÷उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरेपनि अधिकांश पालिकामा नचाहँदा–नचाहँदै उपप्रमुख महिला बने । उपप्रमुख महिलाको लागि कोटा जस्तै बनाईयो । वर्षौदेखि राजनीति गर्दै आएपनि उपप्रमुखमा थन्काईएका महिला यसपटकको निर्वाचनमा भने प्रमुखको नेतृत्व लिन तछाड–मछाड गरिरहेका छन् । प्रमुख पदमा दावी गर्दै अधिकांश बहालमा रहेका उपप्रमुख तयारीमा लागिरहेका छन् । उपप्रमुख भएर पाँच वर्षे कार्यकालको अनुभव बटुलेका कारण नेतृत्वमा काम गर्न सकिने आत्मविश्वास र उच्च मनोवल उपप्रमुखमा देखिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको विदुर नगरपालिकाको गत निर्वाचनमा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी गीताकुमारी दाहाल निर्वाचित भईन् र उहाँ आसान्न स्थानीय निर्वाचनमा प्रमुखमै उम्मेदवार दिने तयारीमा हुनुहुन्छ । पार्टीले विश्वास गरेर टिकट दिएमा प्रमुखमै दावी उनको रहेको छ ।

१२ स्थानीय तहमध्ये सुर्यगढी गाउँपालिकाकी उपप्रमुख मञ्जु बुढाथोकी नेतृत्व लिन महिला सक्षम रहेको बताउँछिन् । उहाँले भन्नुभयो, ‘‘अब नेतृत्वमा महिला हुनुपर्छ, स्थानीय तह महिलाले धेरै राम्रोसँग चलाउन सक्छन् भनेर देखाईसकेका छन्, जनताले मूल्याङ्कन पनि गर्ने नै छन् र जनताको भावना बुझेर पार्टीको नेतृत्व तहले निर्णय गर्नेछ ।’’ उहाँ गत निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उपप्रमुखमा विजयी हुनुभएको थियो । शिवपुरी गाउँपालिकाको नेतृत्वमा अब महिला हुनुपर्ने उपप्रमुख मञ्जुकुमारी केसीले दावी गर्दै भन्नुभयो, ‘‘अब पनि पार्टीले नेतृत्वमा महिला नलगे कहिले लैजान्छ ? पार्टीले हाम्रो अनुभव देखिसकेको छ । राम्रो मूल्याङ्कन हुनुपर्छ ।’’ गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बेलकोटगढी नगरपालिकाकी उपप्रमुख बन्न सफल कविता ढुंगाना पनि प्रमुखमा निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।

त्यस्तै, तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमालले यसपटक प्रमुखमा सशक्त दावी रहने बताउँदै भन्नुभयो, ‘‘पाँच वर्षे कार्यको अनुभवले खारिएका छौं, कुनै महिला पनि पाँच वर्ष कार्यकालमा आलोचित भएनौं ।’’ उहाँ एमालेको तर्फबाट गत निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । पाँच वर्षे कार्यकालको राम्रो मूल्याङ्कन गरेर पार्टीले प्रमुखको भूमिकामा महिलालाई दिनैपर्छ भन्ने दावी दुप्चेश्वर गाउँपालिकाको उपप्रमुख अञ्जु आचार्य र म्यागङ गाउँपालिकाको उपप्रमुख शान्ति लामा गुरूङले समेत गरेका छन् । उहाँहरू दुवै गत स्थानीय तह निर्वाचनमा काँग्रेसको तर्फबाट उपप्रमुखमा विजयी भएका थिए । उहाँहरूले प्रमुखमा दावी रहने भन्दै अन्त्यमा पार्टीको आदेश पालना भने गर्नु नै पर्ने दुःखेसो पोख्नुभएको छ । जिल्लाका १२ वटा पालिकाको उपप्रमु्खमध्ये किस्पाङकी मायादेवी न्यौपाने, तादी गाउँपालिकाकी ईश्वरी उप्रेती, पञ्चकन्या गाउँपालिकाकी सिता पराजुली खड्का, ककनी गाउँपालिकाकी सिता लामा, लिखु गाउँपालिकाकी रोजिना राई भने पार्टीको निर्णयलाई स्विकार गर्ने बताएका छन् ।