म्यादी प्रहरी भर्नाको भिडले बेरोजगारीको टिठलाग्दो अवस्था !

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १६:०१

देशमा परिवर्तन आयो भनिन्छ, जनताले महशुस गर्ने परिवर्तन आएको छैन । जनताको जीवनस्तरमा परिवर्तन देखिंदैन । ब्यवस्था फेरियो, नेता फेरिए, केहीले पार्टी फेरे, त्यहीँ हो परिवर्तन ? होइन भने कसका लागि आयो, कहाँ आयो परिवर्तन ! नेताको घरमा आयो होला, नेताको नजिक हुनेले परिवर्तन महशुस गरे होला । जनताको जीवनस्तरमा खासै परिवर्तन आएको देखिंदैन । हिजो जनताको जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । देशको कुना-काप्चामा हेर्ने हो भने जनता अझै गाँस, बाँस, कपासकै लागि रातो दिन, घोटिंदा पनि अवस्था उस्तै छ । महँङ्गी बढेको बढ्यै छ, बेरोजगारी संस्था बढ्दो छ । रोजगारी सिर्जना गर्न भन्दा जुन सरकार आएपनि सत्ता टिकाउन नै केन्द्रिय हुँदा देश थप बर्बादीतर्फ गईरहेको छ ।

दोस्रो स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा बेरोजगारीको लर्कोले अवस्था प्रतिबिम्वित भएको छ । आवश्यकता भन्दा झण्डै तिन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा देशभरीबाट २ लाख ८९ हजार ४ सय ३१ जनाले आवेदन दिएको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ । गत शुक्रबार दरखास्त दिने अन्तिम आवेदनको संख्याले देशमा बेरोजगारी बढ्दै गएको पुष्टि गर्छ । यो बाहेक लोकसेवा र अन्य संघ-संस्थाको कर्मचारी मागको विज्ञापनमा फर्म बुझाउनेको संख्या पनि कहालीलाग्दो देखिन्छ । म्यादी प्रहरी बन्न चाहाने भिडले देशमा बढ्दै गएको बेरोजगारीलाई छर्लङ्ग परेको छ । यस्तो अवस्था देख्दा सम्बन्धित निकायले बेरोजगारी युवायुवतीको लागि दिर्घकालिन रोजगारीको ब्यवस्था गर्न ध्यान दिन जरूरी देखिन्छ । नुवाकोटमा पनि १३ सय २७ म्यादी प्रहरी भर्नाको लागि तिन गुणा ३८ सय ८७ जनाको आवेदन परेको छ । रसुवामा पनि २ सय ३७ को लागि तिन गुणा भन्दा बढी दरखास्त परेको जानकारी आएको छ ।

स्थानीय तहको चुनाव सिधैं जनतासँग जोडिएको छ । यस चुनावमा जनताले पार्टी भन्दा माथि उठेर सक्षम, योग्य र इमान्दार प्रतिनिधी चुन्ने हो तर युवा-युवतीलाई यस्तो विषयसँग कुनै सरोकार छैन । उनीहरूलाई गाउँ र नगरको चुनाव भन्दा पनि आफ्नै भविष्यको चिन्ता छ, त्यसैले त म्यादी प्रहरीको लाईनमा छन् । उनीहरूलाई थाहा छ, अब चुनिने जनप्रतिनिधीबाट गाउँ, नगर र देशको कहिल्यै मुहार फेरिंदैन । नेताले राजनीतिलाई कमाई खाने भाँडो बनाईरहेका छन् । यी नेताले देशमा रोजगारी बढाउन कहिल्यै योजना ल्याएनन् । रोजगारी सिर्जना गरेपनि आफ्नै परिवारका सदस्य, आफन्त, पार्टीका कार्यकर्तामै सिमित राखे । आम जनताको रोजगारका लागि कसैले ध्यान दिएन र यसैको परिणाम हो – म्यादी प्रहरीमा आवेदन दिनेको लाम । आवेदन दिएको जागिरको ग्यारेन्टीका लागि सोर्स लगाउन र पैसा खर्च गर्न थालेका छन् कस्तो बिडम्वना ! चालिस दिने सरकारी जागिरका लागि पनि यस्तो बेहाल ! परम्परागत पार्टी र नेताबाट देशको कहिल्यै विकास हुन सक्दैन भन्ने जनतामा बसेको छाप मेटाउन धेरै मेहनत गर्न जरूरी छ । नयाँ-नयाँ पार्टी खोलेर शासन ब्यवस्था फेरिएर पनि केही हुनेवाला छैन, ब्यक्ति अनि शैली फेरिनुपर्छ, आचरण बदलिनुपर्छ र इच्छाशक्ति हुनुपर्छ अनि मात्र देशलाई रूपान्तरण गर्न सकिन्छ । साइकल चढ्ने हैसियत नहुने नेतागण अहिले सुविधायुक्त सवारी साधन चढिरहेका छन्, आलासिन महलमा बस्छन् । देशले नेतालाई विकास ग¥यो तर आमजनता जहाँको त्यहीँ छ ।