सेराबगर, पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन शनिबार उद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथि डा.यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गनुभयो । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शितलता महशुस गरेको बताउँदै डा.यादवले चुरे दोहन रोकिनुपर्नेमा जोड दिनुभयो । यहीँ क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उहाँको भनाई थियो । सो कार्यक्रममा पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गरे । उहाँले देशको अर्थतन्त्र राम्रो बनाउन कृषि तथा जलविद्युत् उत्पादन बृद्धि गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले शिवपुरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ रहेको बताउनु भयो । नेतृत्वमा बस्नेले विचार नमिल्नेको पनि कुरा सुनेर सबैलाई मिलाउनुपर्ने केसीले बताए । सो कार्यक्रममा उपस्थित पूर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गनुभयो । २०४६ सालपछि नेपाली काँग्रेसको नेतृत्वमा धेरै विकास भएको उनले बताए । स्थानीय समस्या स्थानीय स्तरमै समाधान गर्न स्थानीय सरकार गठन भएको बताउँदै डा.महतले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
भवन उद्घाटन समारोहमा उपस्थित वागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङले निस्पक्ष ढंगले सेवा प्रवाह गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । अब चाँडै स्थानीय तहको निर्वाचन आएकाले जनप्रतिनिधी परिवर्तन भएपनि कर्मचारी परिवर्तन नहुने भन्दै उनले सेवा प्रवाहमा कमी–कमजोरी नगर्न कर्मचारीलाई सचेत गराईन् । नेपाली काँगेस नुवाकोटका निवर्तमान सभापति एवं संविधानसभा सदस्य तथा जगदिश्वर नरसिंह केसी, नेकपा एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेशमन्त्री बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेस नुवाकोटका सभापती रमेश महत, नेकपा एकिकृत समाजवादीका नुवाकोट जिल्ला सचिव पदम उप्रेतीलगायतले जनताले सुखको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रमका गाउँपालिकाका अध्यक्ष थापाले आफ्नो कार्यकालमा भएका प्रगतीबारे प्रकाश पार्नुभयो । उनले प्रशासकीय भवनसँगै वडा भवन निर्माण, १० शैøयाको आधारभुत अस्पताल निर्माण, कृषि रिङरोड निर्माण, शिवपुरी शित भण्डार निर्माण, कृषि उपज केन्द्र निर्माणलगायत अन्य प्रगतिबारे ३९ बुँदामा प्रष्टाएका थिए । शिवपुरी गाउँपालिकामा निर्माण भएका सबै भवनमा जग्गा निःशुल्क प्राप्त भएको उपाध्यक्ष मञ्जु केसीले सो अवसरमा बताईन् । कार्यक्रममा प्रशासकीय भवन, शिवपुरी आधारभूत अस्पताल भवन, कृषि उपज केन्द्र, कोल्ड स्टोरलगायत अन्य स्थानमा जग्गादान गर्ने जग्गादाता, शिवपुरी गाउँपालिकामा जन्मिएका पूर्व विशिष्ट राष्ट्रसेवक, पूर्व प्रमुख प्रशासकीय अधिकृत, भवन निर्माण गर्ने निर्माण ब्यवसायी र इञ्जिनियरलाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया