+
Search

ताजा अपडेट +

पपुलर +

एनबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

त्रिशूली प्रवाह
४ साल अगाडी


बट्टार, नेपाल बंगलादेश बैंक (एनबी) लि., बट्टार शाखाले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । क्याम्पसका स्नातक तह प्रथम वर्ष (बिबिएस)मा अध्ययनरत ९० जना विद्यार्थीलाई डिजिटल बैंकिङ वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको हो ।

Utsuk Books & Stationery

बैंकका शाखा प्रबन्धक श्रीराम नेपाल तथा कर्जा अधिकृत बिलोन लावतीले कार्यक्रम सहजीकरण तथा वित्तीय जानकारी प्रदान गरेका थिए । सो अवसरमा बैंकको आवश्यकता, बचत, कर्जा, भौचर, चेक, बैंकिङ ठगी तथा त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी, एटिएम, मोबाइल बैंकिङ, आइपिएस, डिम्याट खाता, मेरो सेयर, विप्रेषण, अन्य बैंकिङ सेवा साथै विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा त्यसका फाइदाबारे जानकारी गराइएको थियो । उक्त कार्यक्रम ग्लोबल मनी विक-२०२२ को उपलक्ष्यमा स्थगित सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शाखा प्रबन्धक नेपालले जानकारी दिए । सहभागी विद्यार्थीले उत्सुकताका साथ बैंकिङ सेवाका सम्बन्धमा जानकारी लिनुका साथै उक्त कार्यक्रम फलदायी भएको जनाए । सो अवसरमा क्याम्पस प्रमुख जितेन्द्र अर्याल तथा प्राध्यापक ठाकुरप्रसाद पुडासैनीले बोल्दै विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरी ज्ञान र व्यावहारिक शिक्षाका लागि यस्ता कार्यक्रम लाभदायक हुने बताउँदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा गरिएको बताए ।

बैंकको बट्टार शाखा वि.सं.०५३ मा स्थापना भएको नुवाकोट जिल्लाकै पहिलो निजी क्षेत्रको बैंक हो । उक्त लामो अवधिमा बैंकले आधुनिक बैंकिङ सेवामार्फत जिल्लावासी ग्राहकको मन जित्न सफल भएको छ । बैंकले हाल देशभर सयवटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह