पशुपालन र मिठाई तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • २४ चैत्र २०७८, बिहीबार १६:०८

छहरेबजार, नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको थानापति सत्तरीबजार पशुपालन तथा दूध उत्पादनको पकेट क्षेत्र बनिरहेको छ । गाउँपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग विकास कार्यालय नुवाकोटको आर्थिक सहयोग तथा जिल्ला लघु उद्यमी सङ्घको आयोजना र व्यवस्थापनमा पशुपालन तथा दूधको मिठाई बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।

पशुपालन तालिम दुई दिन र दूधको मिठाई बनाउने तालिम सात दिन सञ्चालन भएको जिल्ला लघु उद्यमी सङ्घकी अध्यक्ष गीता थापाले बताइन् । गाउँपालिकाको २५ जना कृषकलाई उद्यमशीलता तालिम दिएपछि पशुपालन र मिठाई तालिम सञ्चालन गरेको उनले बताइन् । घरेलु तथा साना उद्योग कार्यालयले तालिमका लागि ६ लाख २५ हजार उपलब्ध गराएको जानकारी तालिम समापनमा गराइएको थियो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख रामप्रसाद भुसाललगायतले सहभागीलाई प्रमाणपत्र र दूध बोक्ने स्टिल क्यान वितरण गरेका थिए । पशुपालन तालिमको पशु विशेषज्ञ डा. बलबहादुर कुँवरले र दूधको मिठाई बनाउने तालिमको ईश्वरीप्रसाद धितालले सहजीकरण गरेका थिए । तालिमले दूधको उच्च मूल्य लिन सक्ने बनाएको कृषक भुवन पाण्डेले बताए । उत्पादित दूध बिक्री नहुँदा चिन्तित कृषक तालिमपछि थप उत्साहित भएका छन् । परम्परागत पशुपालनले तरिका गरिरहेका थानापति क्षेत्रका हामी कृषकलाई पशुपालन तालिमले रोग पहिचान र निदान, गोठ सुधार, पशु आहारेबारे जान्ने-बुझ्ने मौका पाएको नवराज पाण्डेले बताए । यस क्षेत्रमा उत्पादित ६० प्रतिशत दूध काठमाडौंमा बिक्री-वितरण हुँदै आएको छ भने बाँकी दूध खाएरै सक्ने गरेको किसान तालिमपश्चात् पनिर, खुवा, पुष्टकारी, बर्फी, लालमोहन, रसवरी, दही, गुदपाक बनाउन सक्ने भएका छन् । मिठाईका परिकार बनाएर थप आम्दानी लिने तयारी किसानले गरिरहेका छन् ।