चुनावी तालमेल सत्तागठबन्धनको मानसिक पराजय

  • त्रिशूली प्रवाह
  • २४ चैत्र २०७८, बिहीबार १६:१७

मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि निर्माण भएको तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको निर्वाचन आगामी वैशाख ३० गते हुन लागेको छ । निर्वाचनको तयारीमा निर्वाचन आयोग र राजनीतिक दल जुटिरहेका छन् । देश निर्वाचनमय बन्दै गएको छ । निर्वाचनलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर दलहरू योजनाबद्ध ढङ्गले अघि बढेका छन् ।

सत्तापक्ष र प्रतिपक्षले निर्वाचनलाई आ–आफ्नो पक्षमा पार्ने योजना र रणनीति सार्वजनिक गरेका छन् । सङ्घीय सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसले सत्तारूढ दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेर अगाडि बढेको छ । काङ्ग्रेसको केन्द्रीय कमिटीले निर्णय गरिसकेकाले सत्तागठबन्धनबीच स्थानीय तहको निर्वाचनमा आवश्यकता र परिस्थिति हेरी गठबन्धन गर्ने तयारी भइरहेको छ । काङ्ग्रेसले निर्वाचन गठबन्धनको दिगो असर पार्टीमा के पर्छ भनेर गहिरो अध्ययन नै नगरी गठबन्धन गर्ने निर्णय गरेको भनी काङ्ग्रेसको एउटा पक्ष विरोधमा उत्रेको छ । काङ्ग्रेसले खाली तात्कालिक उपयोगितावाद र सत्ताकेन्द्रित गठबन्धनका लागि महत्व दिएको देखियो ।

कङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन पहिले नेकपा एमाले बलियो रहेको, काङ्ग्रेस एक्लै लडेर विजय पाउन कठिन भएको, सत्तारूढ दलबीच तालमेल हुन नसके एमाले, माओवादी, समाजवादी सबै गोलबद्ध हुने खतरा रहेको हुनाले तालमेल अनिवार्य भएको सार्वजनिक कार्यक्रममा स्पष्ट गरेका थिए । यो भनाइले नेपाली काङ्ग्रेस कति निरीह भएको रहेछ भन्ने स्पष्ट गरेको छ । विगत सात वर्षयता काङ्ग्रेसको नेतृत्व सम्हालेका र यसबीचमा दुईपटक प्रधानमन्त्रीसमेत भएका सभापतिको यो भनाइले एमालेका सामु काङ्ग्रेस सही अर्थमा निरीह छ भन्ने पुष्टि गर्दैन र ? काङ्ग्रेस र सत्तागठबन्धनको मानसिक पराजयलाई यो भनाइले थप पुष्टि गरेको छ । यो भनाइले आज एमाले सर्वाधिक शक्तिशाली छ, जनतामा उसको सङ्गठनात्मक र सिर्जनात्मक प्रभाव व्यापक छ भन्ने प्रमाणित गर्न खोजेको छ । सत्तारूढ दलको गठबन्धनले एमालेमा भएको विभाजन, विचलन र असन्तोषको तीव्र दबाबका बाबजुत आफूलाई कमजोर र एमालेलाई शक्तिशाली मान्न कति सही मूल्याङ्कन हो अहिले नै भन्न हतार हुनेछ । तर, चुनावी गठबन्धन बनेको कारणले एमाले अध्यक्ष केपी शर्मा ओलीको जनप्रभावसँग अरू दल र उनीहरूको नेतृत्व भयभीत छ भन्ने प्रमाणित गर्न खोजेको छ । सत्तारूढ गठबन्धन दलको चुनावी तालमेलले पहिलो शक्ति एमालेलाई निर्विवाद स्वीकार गरेको बुझ्न दिमाग घुमाइरहनुपर्दैन ।

एमालेको कार्यकर्ता, नेतृत्व र सङ्गठनका लागि यो क्षण गौरवबोध गर्न पर्याप्त हुन्छ । तर, सत्तास्वार्थको कमजोर धागोमा उनीएको गठबन्धनको नेतृत्वले र खास गरी प्रमुख घटक नेपाली काङ्ग्रेसको नेतृत्वले भने आफ्नै सदस्य र शुभेच्छुकको मनोबल गिराइरहेको छ । केही स्थानमा केही थप पदाधिकारी जित्लान्, भोलिका दिनमा प्रदेश र सङ्घमा केही स्थान बढ्लान् । विपरीत चुनावी तालमेलको यो प्रसङ्गले नेपाली राजनीतिलाई थप अवसरवाद र अराजक प्रवृत्तितर्फ उन्मुख गराएको छ । तालमेलसँग असहमत हुनेहरूले पार्टीको निर्णय अनुशासनका रूपमा स्वीकार गर्छन् वा गर्दैनन् त्यो भोलिको समयले बताउला । धैर्यका साथ पर्खनु नै बुद्धिमानी हुन्छ । तालमेल गर्ने निर्णयको भविष्य पार्टीका सदस्यहरूको अनुशासन र चरित्रले निर्धारण हुनेछ ।