विदुरको मेयरमा नेपाली काङ्ग्रेसको तर्फबाट मच्छिन्द्रको दाबी

  • त्रिशूली प्रवाह
  • २४ चैत्र २०७८, बिहीबार १६:३५

दोस्रो स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । चुनाव नजिकिएसँगै राजनीतिक दल चुनावी गतिविधिमा होमिएका छन् । यतिबेला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि गाउँ-गाउँमा भेटिन थालेका छन्, टोल-टोलमा पुगेका छन् । निर्वाचन नजिकिएसँगै नेपाली काङ्ग्रेस नुवाकोटका नेता÷कार्यकर्ता उम्मेदवार बन्न तँछाड-मछाड गर्दै छन् । जिल्लाको १२ वटा पालिका र ८८ वटा वडामा उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । उम्मेदवारका आकाङ्क्षीको भिडमा युवाहरूको प्रतिनिधि गर्दै मच्छिन्द्रनरसिंह प्याकुरेल प्रस्तुत भएका छन् । उनी युवाहरूबीच अत्यन्तै लोकप्रिय र सहयोगी छन् ।

नेपाली काङ्ग्रेसको सम्पन्न १४औँ अधिवेशनमा नुवाकोट जिल्लाको क्षेत्र नं. २ बाट क्षेत्रीय सभापतिमा उम्मेदवार बनेका प्याकुरेल झिनो मतले पराजित भएपनि काङ्ग्रेसवृत्तमा चर्चित छन् । सङ्घीयता लागु भएपश्चात् रूपान्तरित भएको स्थानीय तह राजनीतिक, सामाजिक र सेवामूलक सेवा प्रदायक आकर्षक स्थान हो स्थानीय तह, नुवाकोट जिल्लाको विदुर नगरपालिकामा विभिन्न पार्टीबाट विभिन्न पदमा आकाङ्क्षीको नाम छलफलका लागि प्रस्तुत भइरहँदा प्याकुरेलको नाम युवाहरूले प्रस्ताव गरेका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट क्षेत्रीय सभापति पदमा निकै कम मतान्तरमा पराजित युवा नेता, सामाजिक व्यक्तित्व, मच्छिन्द्रनरसिंह प्याकुरेलको नाम गाउँ, सहर, आमजनजनमा र कार्यकर्ता पङ्क्तिमा चर्चाको शिखरमा छ । नेपाल विद्यार्थी सङ्घबाट विद्यार्थी राजनीति सुरु गरी ०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा ०६५ सालमा स्ववियु सचिव पदमा प्यानलसहित निर्वाचित भई तत्कालीन नेपाल विद्यार्थी सङ्घको क्षेत्रीय सदस्य हुँदै उनको नेतृत्वमा साबिक क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन भई नयाँ कार्यसमिति चयन गराएका थिए । तत्पश्चात् जिल्लाभित्र भए-गरेका हरेक राजनीतिक आन्दोलनको संयोजन एवम् उत्साहपूर्वक सहभागी भएका प्याकुरेल आमकाङ्ग्रेसीजनका युवा पुस्तामा लोकप्रिय छन् ।
निजामती सेवामा करिब १४ वर्ष बिताई सम्भावनाको अवसर र भविष्यलाई बीचबाटैबाट तिलाञ्जली दिएर राजनीति रोजेका प्याकुरेल व्यवस्थापन र जनप्रशासनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हुन् । निजामती सेवाको दौरानमा स्थानीय निकायमा करिब आठ वर्ष र स्थानीय तहमा करिब चार वर्ष काम गरेको अनुभव प्याकुरेलसँग छ । जनताको सेवामा कर्मचारी हुँदा त दत्तचित्त लागिरहन रुचाउने प्याकुरेलले दशकौँदेखि सामाजिक क्षेत्रलाई पनि कर्मथलो बनाएका छन् । ठुल्ठूला विपत्, अप्ठ्यारो, परिस्थितिमा प्याकुरेललाई सबैले सम्झन्छन् । विनाशकारी भूकम्पको समयमा भूकम्प प्रभावितलाई घटनास्थल पुगी तत्काल राहत, उद्धारमा उनको नेतृत्वले जिल्लाका विकट स्थानमा गर्विलो उपस्थितिका साथ सेवा प्रदान गरेको थियो । कोभिड महामारीमा देश ठप्प हुँदा नुवाकोटे जनता त्रिशूली अस्पताल होस् या काठमाडौंमा उपचारार्थ बिरामीलाई रगतको अभाव हुन नदिई हजारौँको जीवन बचाउन दिनरात खटिएका प्याकुरेलको अग्रसरतामा प्लाज्मा दान गरी कोभिड सङ्क्रमित बिरामीको जीवनको थप पर्याय बनेका थिए ।

प्रथम कोभिड महामारी र लकडाउनका कारण खाद्यान्न अभाव भएका विदुर नगरपालिकाभित्रका १३ वडाका करिब एक हजार ६ सय घरपरिवार, ज्येष्ठ नागरिक, भूमिहीन, गरिब, मजदुरको घरघरमा पुगी खाद्यान्न, नुन, तेल, चामल, दाल, साबुनलगायतका सामग्री वितरण गरेका प्याकुरेलले दोस्रो लकडाउनमा पनि उत्तिकै क्रियाशील भई एक हजार ६ सय घरपरिवारलाई उही परिमाणमा राहतको प्याकेज घरघर पु¥याएका थिए । जिल्लामा अक्सिजनको अभाव भएको अवस्थामा स्थानीय प्रशासनसँगको समन्वयमा अक्सिजन आवश्यक भएका नागरिकलाई अक्सिजन घरघरमा पु¥याई जीवन बचाएका प्याकुरेललाई विदुर नगरपालिकाको नेतृत्वमा पु¥याउन युवापङ्क्ति क्रियाशील रहेको छ । नेपाली काङ्ग्रेसको तर्फबाट विदुर नगरपालिकाको प्रमुखका दाबेदार प्याकुरेल स्थानीय तहको चुनावमा काङ्ग्रेसलाई अग्रस्थानमा ल्याउन जनताको बीचमा पुगिरहेका छन् । सदरमुकाम रहेको विदुरमा ०४६ सालपछिको स्थानीय निर्वाचनमा काङ्ग्रेसले जित्न सकेको छैन । यसपटक सबै नेता/कार्यकर्ताको मनोभावना बुझ्ने गरी काङ्ग्रेस नेतृत्वले विदुरको प्रमुख, उपप्रमुख र वडामा उम्मेदवार उठाउनुुपर्ने धारणा राख्ने प्याकुरेल काङ्ग्रेसले नजितेसम्म विदुरवासीले महसुस हुनेगरी विकास निर्माणको काम नहुने बताउँछन् ।

विदुरमा विगतमा भन्दा काङ्ग्रेसको अवस्था सुढृद र बलियो रहेकोले अधिकांश वडासहित प्रमुख, उपप्रमुख आगामी स्थानीय चुनावमा एक्लै उठ्दा पनि जिताउन सक्ने बताउने प्याकुरेल लोकप्रिय र प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाउन पार्टी नेतृत्वले निर्णय गर्नुपर्ने बताउँछन् । विगतमा काङ्ग्रेसमा घात-अन्तर्घात भए, जसको कारण जित्ने माहोल हुँदाहुँदै पनि अन्य दलको उम्मेदवारलाई हामीले जिल्लाको जनप्रतिनिधिको भूमिकामा पु¥याऔँ, यसले ठूलो मूल्य चुकाउनुप¥यो । चाहे त्यो विकास निर्माणको सन्दर्भमा होस्, जिल्लाको समृद्धिका सन्दर्भमा होस् वा जिल्लाको साख राख्ने, विदुरलाई नमुना नगर बनाउने सन्दर्भमा होस् । काङ्ग्रेसको घात-अन्तर्घातका कारणले अरू दलले त्यसको अवसर पाउँदाखेरि कार्यकर्ताको मनोबल गि¥यो । अब त्यसबाट हामीले शिक्षा प्राप्त गरेर घात-अन्तर्घातलाई निमिट्यान्न बनाउनुपर्छ । कुनै पनि तहको निर्वाचनमा आत्मकेन्द्रित भएर, व्यक्तिगत स्वार्थबाट प्रेरित भएर निर्वाचनमा परिचालन हुने, त्यो किसिमको संस्कारलाई हामीले निमिट्यान्न बनाएर संस्थागत ढङ्गबाट, पार्टीगत ढङ्गबाट, वैचारिक ढङ्गबाट र रूख चिह्नलाई महत्व दिएर हामी निर्वाचनमा लाग्नुपर्छ भन्ने प्याकुरेल विदुरको मेयरमा आकाङ्क्षी रहेका छन् ।