+
Search

ताजा अपडेट +

पपुलर +

रोलक्रममा सूर्य पहिलो, रूख दोस्रो

रोलक्रममा सूर्य पहिलो, रूख दोस्रो
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, निर्वाचन हुँदा मतपत्रमा सधैँ अगाडि रहने नेपाली काङ्ग्रेसको चुनाव चिह्न रूख आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ रोलक्रममा पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली काङ्ग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गरेको हो । सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतसङ्ख्याको आधारमा समावेश गरिनेछ’ भन्ने उल्लेख छ । सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, काङ्ग्रेसको ‘रूख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौथो, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल पाँचौँ र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौँ नम्बरमा रहनेछ । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त दल हुन् ।

यसैगरी, सातौँ नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौँमा राप्रपाको हलो, नवौँमा जनमोर्चाको गिलास र १०औँ नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था उल्लेख छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न कायम गरिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह