बट्टार, नुवाकोटको विनपा-४ बट्टारमा रहेको होटेल वाटर टावर प्रा.लि.ले सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरेको छ । सिद्धार्थ ग्रुपले होटेल वाटर टावरमा व्यवस्थापकीय साझेदारीसहित सेवा विस्तार वैशाख १ गतेदेखि गरेको हो । उक्त साझेदारीपछि होटेल वाटर टावर आजदेखि सिद्धार्थ होटेल वाटर टावरको नामबाट सञ्चालन हुने होटेल सञ्चालक ध्रुवप्रसाद रिमालले जानकारी दिए । नुवाकोटलगायत बागमती प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ ।
होटेल सञ्चालक रिमालका अनुसार यस होटेल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, विभिन्न प्रकारका सेमिनार, गोष्ठी र तालिमका लागि हल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा छन् । यस होटेलले चाँडै पाँँच सयभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लब, पारिवारिक वातावरणसहितको फाइनडाइन रेस्टुरेन्ट र प्राइभेट डाइनिङ रुमलगायतका संरचनाको निर्माण गरी थप स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको होटेल वाटर टावरका व्यवस्थापक राममणि अधिकारीले बताए । ०७३ साल जेठ महिनादेखि सञ्चालनमा आएको उक्त होटेलले नुवाकोटको भ्रमणमा आउने पर्यटकलाई स्तरीय सेवा दिँदै आएको छ । नुवाकोटमा साततले दरबार, भैरवी मन्दिर, जालपादेवी मन्दिर, चिम्टेश्वर महादेव, दुप्चेश्वर महादेव, वनदेवी मन्दिर, पञ्चकन्या मन्दिर, कविलासको नाट्यश्वरी र कपिलेश्वर महादेवको मन्दिर, कालिका मालिका मन्दिर, बेत्रावती (उत्तरगया धाम), पृथ्वीनारायण शाहको सालिक तथा समाधिस्थल देवीघाट एवम् त्रिशूली जलविद्युत्को ड्याम साइडलगायतका स्थान छन् ।
होटेल, रेस्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटेल म्यानेजमेन्ट, इस्टिच्युटजस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टीकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्द्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बानेश्वर, धोबीघाट, तिनकुने, सुन्धारा, बौद्धलगायतका स्थानमा २९ शाखामार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटेल सञ्चालनको तयारीमा रहेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताए ।




प्रतिक्रिया