ओली आज बट्टारमा गर्जिने

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार ११:४९
  • शम्भुराम दाहाल

विदुर, नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार नुवाकोटको जनसभालाई सम्बोधन गर्न र पार्टी प्रवेश गराउने कार्यक्रमका लागि आउँदै छन् ।

देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर अहिले चलेको छ । एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू नुवाकोटमा पनि भोलि हजारजनाभन्दा बढी अन्य पार्टीबाट प्रवेश गराउने कार्यक्रममा आउन लागेका हुन् । अध्यक्ष ओलीबाट सम्बोधन हुने जनसभामा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, पूर्वपोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेको उपस्थिति हुने जिल्ला कमिटीका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीले त्रिशूली प्रवाहलाई दिएको जानकारीअनुसार जनसभाको तयारीका लागि उपसमिति गठन गरी काम बाँडफाँड गरिएको छ । सभाका लागि मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालन, स्वागतद्वार निर्माण, ¥याली व्यवस्थापन, ब्याच, माला, खादा वितरण, प्रचार–प्रसार व्यवस्थापन, सामाजिक सञ्जाल प्रचार, अतिथि सत्कार, यातायात व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, सांस्कृतिक तथा झाँकी, स्थानीय निर्वाचन प्रतिबद्धतापत्र निर्माण आर्थिक उपसमिति गठन गरिएको छ । शुक्रबार १२ बजे बट्टार हावाघरमा हुने आमसभामा १२ वटै पालिकाबाट ५० हजारभन्दा बढी सहभागी गराउने तयारीमा एमाले नुवाकोट सक्रिय रहेको छ ।