आइतबारबाट टाइफाइड खोप सुरु

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार ११:५७

विदुर, नुवाकोट जिल्लामा टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप अभियान वैशाख ४ गते आइतबारदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ

मंगलबार स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोट जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका ७५ हजार दुई सय पाँच बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरेका छन् । खोप अभियानका लागि स्थानीय तहको समन्वयमा चार सय २९ खोप केन्द्र निर्धारण गरिएकोमा आठ सय ९८ जना स्वयम्सेवक खटाइनेछ । खोपका लागि जिल्लाभर स्वास्थ्यचौकीको साथै ८० प्रतिशत बालबालिका विद्यालयमा अध्ययन गर्ने तथ्याङ्कले विद्यालयमै खोपकर्मी खटाएको उनले बताए । ‘सुई लगाइएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्नी दुख्ने केही बालबालिकामा सामान्य असर देखापर्न जान्छ,’ उनले भने, ‘अन्य जटिलता देखापरेमा तत्काल बिरामीको उपचारमा खट्ने त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय व्यवस्थापन समिति तयारी गरेका छौँ ।’ खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखापरेको वा कुनै कडाखालको एलर्जी, एड्सको लक्षण देखापरेको अवस्था र उच्च ज्वरो आएका बालबालिकालाई यो खोप लगाउनु नहुने उनले बताए ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ । नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बालमृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने सरकारले लक्ष्य राखेको छ ।