जोखिम न्यूनीकरण गर्न मेसिनरीवाल निर्माण

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार ११:०९

बेत्रावती, विदुर नगरपालिका-१० सियाँलेमा त्रिशूली थ्री ‘बी’ हब ट्रान्समिसन लाइन प्रोजेक्टको तारको दूरी कायम गर्न डाँडामा कटिङ गरेको थियो । उक्त कटिङ गरेको डाँडामा स्थानीयको सल्लाहमा ठेकेदार कम्पनीले ढुङ्गाको मेसिनरीवाल निर्माण गरिदिएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिनियाँ ठेकेदार कम्पनी ETERN-CCCE-FEPEC जेभीले त्रिशूली थ्री ‘बी’ हब ट्रान्समिसन लाइन शान्तिबजारदेखि समुन्द्रटारसम्मको निर्माणको जिम्मा पाएको थियो । ट्रान्समिसन लाइनको तारको दूरी कम गर्न विनपा-१० सियाँलेमा डाँडा कटिङ गरी तार तानेको थियो । उक्त डाँडा कटिङ क्षेत्रमा भविष्यमा आइपर्ने पहिरोलगायत अन्य जोखिम न्यूनीकरण गर्न स्थानीयसँगको छलफलमा ५५ मिटर लम्बाइको तीनदेखि चार मिटर उचाइको ढुङ्गाको मेसिनरी पर्खाल गत चैत २१ गते निर्माण सम्पन्न गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले स्थानीय ठेकेदार बज्र कन्स्ट्रक्सनलाई उक्त ढुङ्गाको मेसिनरी पर्खाल लगाउने ठेक्का दिएको थियो । उक्त काम ठेकेदार कम्पनीले २०७८ फागुनमा सुरु गरेर चैतमा सम्पन्न गरेको हो । प्रोजेक्टको दुईवटा टावर AP-17 देखि AP-17-01 सम्मको भागमा मेसिनरीवाल लगाएपछि पहिरो र अन्य प्राकृतिक प्रकोप न्यूनीकरण हुने अपेक्षा स्थानीयले गरेका छन् ।