मध्यत्रिशूलीगंगा जलविद्युत् निर्माण सुरु

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार ११:२८

विदुर, नुवाकोटको विदुर नगरपालिका-७ तुप्चेमा १५ मेगावाटको मध्यत्रिशूलीगंगा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । निर्माण सुरु गर्नुभन्दा अगाडिको सबै प्रक्रिया आयोजनाले पूरा गरिसकेको छ

पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.लि.ले निर्माण सुरु गरेको यो आयोजनाले दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । नुवाकोटको विदुर नगरपालिका-७ तुप्चे, किस्पाङ गाउँपालिका-५ मनकामना र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-५ लहरेपौवा क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण हुनेछ । आयोजनाले २०८० जेठसम्ममा विद्युत् उत्पादन गर्ने प्रस्ताव गरे पनि उक्त अवधिमा विद्युत् उत्पादन नहुने भएको छ । माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको टेलरेसबाट हेडरेस बक्स कल्भेटको सहायताले यो जलविद्युत्मा पानी पठाइने भएकाले यो आयोजना माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको निर्माण सम्पन्न भएपछि मात्र निर्माणको गति लिनेछ । बेत्रावतीको राम मन्दिरभन्दा एक सय मिटर माथिबाट यो आयोजनाले विद्युत् उत्पादनपछि पानी त्रिशूली नदीमा खसाल्छ । धार्मिक क्षेत्र बेत्रावतीको माथि नै यो आयोजना निर्माण हुने भएपछि धार्मिक क्षेत्र बेत्रावतीमा पानीको स्रोत यथावत् रहनेछ ।

मध्यत्रिशूलीगंगा जलविद्युत्बाट उत्पादित विद्युत् खरिद सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग भइसकेको छ । यो आयोजनालाई नेपाल इन्फास्ट्रक्चर बैंकले लगानी गर्नेछ । विद्युत् आयोजनाको कुल निर्माण लागत तीन अर्ब ९३ करोड ३९ लाख ५६ हजार एक सय ५५ हुने बताइएको छ । आयोजनाको साइड अफिस स्थापन गर्ने र जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको आयोजनाका कार्यकारी प्रमुख भरत खड्काले जानकारी दिए ।