+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा एमालेले जित्न जरुरी : ओली

त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको पक्षमा माहोल बनाउन नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका अध्यक्ष दुई महिनाको बीचमा नुवाकोट आएर कार्यकर्तालाई उक्साएर फर्केका छन् । विगतका स्थानीय, सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटमा केन्द्रीय अध्यक्ष आएको बिरलै सुनेका जिल्लावासीले दुई महिनाको बीचमा चारवटा पार्टीको अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री देख्न पाए ।

चुनावकेन्द्रित जनसभा तथा अन्य पार्टीका नेता/कार्यकर्ता र सर्वसाधारण मतदाता प्रवेश गराउन शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओली नुवाकोट आएका थिए । यसभन्दा अघि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नुवाकोटको कार्यक्रममा सहभागी भइसकेका छन् । एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै भने, ‘वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नुवाकोटको सबै पालिकामा एमालेले जित्नु जरुरी छ ।’ एमाले जिल्ला कमिटीले शुक्रबार गरेको सभामा बोल्दै अध्यक्ष ओलीले नुवाकोटलाई एमालेमय बनाउन नेता/कार्यकर्तालाई निर्देशनसमेत दिन भ्याए । ‘नुवाकोट जिल्ला एमालेको किल्ला, नुवाकोट जिल्ला लालकिल्ला, नुवाकोट जिल्ला सूर्यको किल्लाको कुरा लिएर तपाईंहरू अगाडि बढ्नुहुनेछ,’ अध्यक्ष ओलीले कार्यकर्तालाई भने । को उम्मेदवार हुन्छ, त्यो छाड्नुस्, योग्य उम्मेदवार छान्नुस्, त्यसमा फित्ताले नाप्ने होइन, तराजुमा तौलिने होइन । पार्टीले उम्मेदवार तोकिसकेपछि एकमत, एकसुरमा चुनावी अभियान अगाडि बढाउने र कार्यकर्तापङ्क्ति एक भएर लाग्नुपर्नेमा उनले जोड दिए । अहिले असन्तुष्टि पोख्ने बेला नभएको भन्दै ओलीले चित्त नबुझे वैशाख ३० पछि छलफल गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । ‘चित्त नबुझेका कुरा वैशाख ३० गतेपछि जेठ ४/५ गतेतिर बसेर कहाँ चित्त बुझेन, कहाँ के भयो भनेर छलफल गरिनेछ,’ उनले भने, ‘अरू ठाउँ पनि हुन्छन् । यो निर्वाचन जित्नैपर्छ ।’

एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरिका सात सय ५३ वटै पालिकामा जित्नुपर्नेछ,’ उनले भने, ‘एमालेलाई जित्न नदिन घोषित रूपमा, अघोषित रूपमा गठबन्धन हुँदै छ ।’ उक्त जनसभामा अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका पूर्वजिल्ला उपसभापति एवम् पूर्वगाविसअध्यक्ष यमबहादुर थापासहित एक हजारभन्दा बढी अन्य पार्टीका नेता/कार्यकर्तालाई एमालेमा स्वागत गरेर र भित्र्याएका छन् । विशाल उपस्थितिमा भएको जनसभालाई एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, पूर्वपोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, उषाकिरण तिमिल्सना, बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलगायतले सम्बोधन गरेको जिल्ला कमिटीका सचिव सुदर्शन नेपालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह