एमाले प्रवेश गरेका थापा र पौडेल काङ्ग्रेसको कारबाहीमा

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार ११:५३

विदुर, नेकपा एमाले प्रवेश गरेका नेपाली काङ्ग्रेसका पूर्वजिल्ला उपसभापति र क्रियाशील सदस्य काङ्ग्रेसको कारबाहीमा परेका छन् । वैशाख २ गते एमाले प्रवेश गरेका पूर्वजिल्ला उपसभापति यमबहादुर थापा र क्रियाशील सदस्य भगवान पौडेललाई साधारण सदस्यसमेत नरहने गरी काङ्ग्रेसको जिल्ला अनुशासन समितिले कारबाही गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

काङ्ग्रेस नुवाकोटको वैैशाख ४ गते बसेको जिल्ला अनुशासन समितिको बैठकले पार्टीको जिल्ला कार्यसमितिका पूर्वउपसभापति थापा र क्रियाशील सदस्य पौडेललाई पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत हुने गरी अनुशासन उल्लङ्घन गरेको सूचनाको आधारमा जिल्ला अनुशासन समितिले गत चैत २५ नै पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ । तोकिएको समयभित्र स्पष्टीकरण पेस नभएको र वैशाख २ गते नेपाल कम्युनिस्ट पार्टी एमाले प्रवेश गरेकाले क्रियाशील र साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न बागमती प्रदेश अनुशासन समितिमा सिफारिस गरिएको नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।