भोलिदेखि एसइई : नुवाकोटका ४,२४६ सहभागी

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १२:०१

विदुर, भोलि शुक्रबारदेखि गत ०७८ सालको माध्यमिक शिक्षा परिषद् (एसइई) परीक्षा सञ्चालन हुँदै छ । कोभिड-१९ को महामारीको कारण विगत दुई वर्ष एसइई परीक्षा रोकिएको थियो ।

कोभिड-१९ को महामारी साम्य हुँदै गएपछि भौतिक रूपमै परीक्षा सञ्चालन दुई वर्षपछि हुन लागेको छ । नुवाकोटमा एसइई परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । नुवाकोटबाट साधारण, प्राविधिक र ग्रेडवृद्धि गरेर चार हजार दुई सय ४६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जानकारी दिएको छ । परीक्षाको सबै तयारी जिल्लामा पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवकुमार भँडेलले बताए । जिल्लाको प्राविधिक धारतर्फका परीक्षार्थीका लागि पृथ्वी मावि विदुर केन्द्र तोकिएको छ । प्राविधिक धारतर्फ जिल्लाका ६ वटा विद्यालयका एक सय सय ४९ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । एसइई परीक्षामा सबैभन्दा बढी रुक्मिणी मावि दुप्चेश्वर गाउँपालिका समुन्द्रटारका दुई सय ५७ जना विद्यार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम ज्ञानज्योति मावि किस्पाङ गाउँपालिका फिकुरीका ८९ जना रहेका छन् ।

यसअघि कोभिड-१९ को सङ्क्रमण बढेपछि दुईपटक एसइई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसइईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनुपर्ने प्रावधान हटाएको छ भने सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्कसमेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पु¥याउने गरेको थियो ।