Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर विजयी

त्रिशूली प्रवाह
४ साल अगाडी

समुन्द्रटार, नेपाल रेस्लिङ सङ्घ नुवाकोट शाखाको आयोजनामा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको रामतीमा सम्पन्न दोस्रो आरडब्लू समर स्लामको हेभिवेट च्याम्पियनको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । नुवाकोटे टाइगरले डेभिडलाई पराजित गरेर हेभिवेट च्याम्पियनको उपाधि जितेका हुन् । डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका हेभिवेट च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले ८५ हजार नगद प्राप्त गरेका छन् ।

त्यसैगरी, त्रिपल थ्रेटतर्फ साइन, चट्टान र किङ रोबर्र्टबीचको खेलमा साइन च्याम्पियन बने । उनी पनि नुवाकोटका नै हुन् । उनले नगद ४५ हजार प्राप्त गरेका छन् । महिलातर्फको उपाधि तनुले जितिन् । उनले आकृतिलाई पराजित गरेर ४० हजार नगद प्राप्त गरिन् । ट््याग टिम म्याचमा सिजे वल्र्ड र योङ स्याडीलाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित ग¥यो । जितसँगै स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्राप्त ग¥यो । नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको सो कार्यक्रममा मदन थापा र प्रतिमा अर्यालले विभिन्न लोकदोहोरी गीत गाएर मनोरञ्जन दिलाएका थिए । उनले सो अवसरमा दुप्चेश्वर महादेव मन्दिरलाई एसियाकै प्रमुख १० धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित गराउने बताए । नुवाकोटका विभिन्न स्थानबाट मन्दिरसम्म पुग्न बनाइएका सडकको स्तरोन्नति गर्ने पनि उनले आश्वासन दिएका छन् ।

कार्यक्रममा नेपाल रिङ रेस्लिङ सङ्घका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठले दुप्चेश्वरमा खेल आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपालमा रिङ रेस्लिङको क्रेज बढ्दै गएको बताए । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले रेस्लिङ खेलको माध्यमबाट दुप्चेश्वर महादेव मन्दिरको प्रचार गर्ने नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोटप्रति आभार प्रकट गरे । नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति रमेश महतले दुप्चेश्वर महादेव सबैको आस्थाको केन्द्र बनेको बताउँदै यसको थप प्रचार-प्रसार गर्ने बताए । उनले खेलको माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रचार गर्न सकिने बताए ।

नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोटका अध्यक्ष प्रह्लाद थापाले नुवाकोटको विभिन्न पर्यटकीय स्थलको प्रचार-प्रसारका लागि रेस्लिङ प्रतियोगिता आयोजना गरिएको बताए । यसअघि शिवपुरी गाउँपालिकाको सुइरेचौरमा खेल आयोजना गरिएको स्मरण गर्दै उनले अब नुवाकोटको अर्को स्थानमा पनि निकट भविष्यमा नै प्रतियोगिता सञ्चालन गर्ने बताए । रेस्लिङ प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल रिङ रेस्लिङ सङ्घका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, नेपाली काङ्ग्रेस प्रदेश सभापति सुशील खड्कालगायतले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । रेस्लिङ प्रतियोगिता हेर्न सात हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह