६ वटा स्वास्थ्यचौकीमा प्रसूति सेवा गर्भ जाँच गराउनेलाई चार क्रेट अन्डा

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १५:१६

सेराबगर, शिवपुरी गाउँपालिका-६ मा रहेको समुन्द्रादेवी स्वास्थ्यचौकीमा प्रसूति सेवा गत महिनाबाट सुरु भएको छ । अब पालिकामा रहेको ६ वटै स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा गई नियमित गर्भ जाँच गराएमा गर्भवतीले चार क्रेट अन्डा, चार प्याकेट आयोडिन नुन दिँदै आएको छ । स्वास्थ्यचौकीमा पहिलोपटकको गर्भ जाँचमा सय रुपैयाँको रिजार्च कार्डसमेत उपलब्ध गराउने गरिएको छ ।

‘समृद्ध शिवपुरी, शून्य होम डेलिभरी’ भन्ने नाराका साथ गाउँपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाले गत हप्ता समुन्द्रादेवी स्वास्थ्यचौकीमा प्रसूति सेवाको सुरुवात गरेको छ । समुदायमा अझै पनि घरैमा सुत्केरी हुने गरेको र आमा र बच्चाको स्वास्थ्यमा समस्या उत्पन्न भई ज्यान नै जोखिममा पर्ने गरेको पाइएकाले पालिकाले समुन्द्रादेवी स्वास्थ्यचौकीमा नै प्रसूति सेवा सुचारु गरेको छ । वडामा रहेको स्वास्थ्यचौकीमा नै प्रसूति सेवा उपलब्ध भएसँगै सुत्केरी गराउन अन्यत्र स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख उद्धव कार्कीले बताए । समुन्द्रादेवीसहित शिवपुरीको ६ वटा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध रहेको छ । वडा नम्बर १ मा रहेको तंलाखु स्वास्थ्यचौकी, वडा नम्बर ३ मा रहेको सल्लेमैदान स्वास्थ्यचौकी, वडा नम्बर ४ मा रहेको सिक्रे स्वास्थ्यचौकी, वडा नम्बर ७ मा रहेको सुनखानी स्वास्थ्यचौकी र वडा नम्बर ८ मा रहेको थानापती स्वास्थ्यचौकीमा यसअघि नै प्रसूति सेवा उपलब्ध रहेको थियो ।

आगामी आर्थिक वर्षमा वडा नम्बर ५ र २ मा रहेका स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा उपलब्ध गराउने लक्ष्य राखिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख कार्कीले जानकारी दिए । स्वास्थ्य संस्थामा नै गई सुत्केरी गराउनलाई प्रोत्साहन गर्न गाउँपालिकाले पाँच सय रुपैयाँ पोषणभत्तासँगै स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी अन्य अस्पतालमा जान परेमा पालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिरहेको छ ।