पाँच वर्षमा नुवाकोटको ७२ वडा र चार पालिकाको भवन

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार ११:०३

विदुर, ०७४ मा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनबाट नुवाकोटका निर्वाचित जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा ७२ वडा कार्यालय र चारवटा पालिका प्रमुख प्रशासकीय कार्यालयको नयाँ भवन निर्माण गर्न सफल भएका छन् । नयाँ भवन निर्माण भएर कार्यालय नै सञ्चालन गर्नेमा शिवपुरी, तादी र किस्पाङ गाउँपालिका रहेका छन् भने भवन निर्माण सम्पन्न गरेर कार्यालय सञ्चालन गर्ने तयारीमा दुप्चेश्वर गाउँपालिका रहेको छ ।

जिल्लाको म्यागङ, ककनी, पञ्चकन्या गाउँपालिका र विदुर नगरपालिकाको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको छ । जिल्ला समन्वय समिति नुवाकोटले दिएको जानकारीअनुसार सूर्यगढी, तारकेश्वर, लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकाले पाँचवर्षे कार्यकालमा भवन निर्माणका लागि जग्गासमेत व्यवस्थापन गर्न सकेनन् । १२ वटा पालिकाको ८८ वटा वडामध्ये पाँचवर्षे कार्यकालमा ७२ वडाको नयाँ भवन निर्माण भएर कार्यालय सञ्चालन भइसकेको छ । पहिलो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले १६ वटा वडा र चारवटा पालिकाको भवन निर्माणको प्रक्रियासमेत सुरु गर्न सकेनन् । पालिकालाई भवन निर्माण गर्न जिल्ला समन्वय समिति, सङ्घीय र प्रदेश सरकारबाट सहयोगसमेत भएको छ । जिल्ला समन्वय समिति, सङ्घीय र प्रदेश सरकारले छुट्याएको बजेट नपुगेमा पालिकाले आन्तरिक बजेट छुट्याएर भवन निर्माण गर्न सक्ने अधिकार थियो ।