दोस्रोपटक टिकट पाउने एक दर्जन भाग्यमानी

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार ११:१४
  • शम्भुराम दाहाल

विदुर, नुवाकोट जिल्लाका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र पार्टीभित्र आकाङ्क्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको, फरक/फरक दलबीचको गठबन्धनको कारण उम्मेदवारको सङ्ख्या धेरै भए पनि जिल्लाका एक दर्जन प्रमुख/उपप्रमुखमा दोहोरिने भाग्यमानीमा परेका छन्

पार्टीभित्र नै आकाङ्क्षी धेरै रहेको बेला चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न सत्तारूढ र विपक्षी पार्टीको फरक/फरक चुनावी गठबन्धन बनेको कारण पार्टीका सीमित र शीर्ष नेतृत्वमा समेत उम्मेदवार छान्न हम्मे/हम्मे नै प¥यो । पद नपाएका कारण पार्टी छाड्ने र चुनावमा बागी उम्मेदवार हुनेको सङ्ख्या उल्लेख्य रहेको भए पनि यही चुनावी महासागरमा पालिकाका नौजना प्रमुख र तीनजना उपप्रमुखले दोस्रो कार्यकालका लागि दोहोरिने अवसर पाएका छन् । दोहोरिने भाग्यमानी उम्मेदवारमा नेकपा एमालेका नेता सञ्जु पण्डित विदुर नगरपालिकाको प्रमुख पदमा पुनः दोस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । जिल्लाको दोस्रो नगरपालिका बेलकोटगढीमा नेकपा एमालेका नेता राजेन्द्ररमण खनालले दोस्रो कार्यकालका लागि उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी, एमालेकै नेता रमेशबहादुर वस्तीले पनि दोस्रो कार्यकालका लागि तारकेश्वर गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यी तीनवटा पालिका गत ०७४ को निर्वाचनमा एमालेले जितेको हो । यी तीनवटा पालिकामा सत्तागठबन्धनको काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवारी दिएका छन् ।

काङ्ग्रेसले गत ०७४ को निर्वाचनमा जितेको लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा र म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ पनि दोहोरिने भाग्यमानीमा परेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट ०७४ को निर्वाचनमा पञ्चकन्या गाउँपालिकाको प्रमुखमा निर्वाचित रमेश (तेज) बहादुर तामाङ र गत निर्वाचनमा काङ्ग्रेसबाट दुप्चेश्वरमा निर्वाचित योविन्द्रसिंह तामाङले यसपटक काङ्ग्रेस परित्याग गरी एमालेको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको तीनवटा पालिकाका उपप्रमुख पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने भाग्यमानीमा परेका छन् । ०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित सूर्यगढी गाउँपालिकाको उपप्रमुख पदमा निर्वाचित मञ्जु बुढाथोकी, तादी गाउँपालिकाको उपप्रमुख पदमा निर्वाचित ईश्वरी उप्रेती र दुप्चेश्वर गाउँपालिकाको उपप्रमुख पदमा निर्वाचित अञ्जु आचार्यले सोमबार दोस्रो कार्यकालका लागि उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।