श्रेस्ता अभिलेख व्यवस्थापन गर्दै मालपोत नुवाकोट

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार १२:०७
  • सुनील श्रेष्ठ

विदुर, जिल्ला मालपोत कार्यालय नुवाकोटले श्रेस्ता अभिलेख व्यवस्थापन कार्यक्रमअन्तर्गत स्क्यानिङ कार्य सुरु गरिरहेको छ ।

वर्षौँदेखिको कागजी मोठलाई पेपरलेस गरी डिजिटलका माध्यमको प्रयोग गरी कार्यालयबाट दिइने सेवालाई चुस्त राख्न प्रक्रिया अघि बढेको कार्यालय प्रमुख होमनाथ सेढाईले बताए । उनले श्रेस्ता अभिलेख व्यवस्थापनलाई डिजिटलअन्तर्गत मोठको स्क्यानिङ कार्य भइरहेको बताए । कार्यालयमा भएका मोठलाई दुई खण्डमा अभिलेख गरी राखिएका थियौँ । खण्ड ‘क’ मा २५ मोठ र खण्ड ‘ख’ मा २० मोठको अभिलेख छ । कार्यालयको श्रेस्ता अभिलेख व्यवस्थापन कार्यक्रम स्क्यानिङ गर्ने कार्यको कुल श्रेस्ताको दुई लाख सात हजार ६ सय पाँच पेजको स्क्यानिङ कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । कोरोनाको कारण स्क्यानिङ कार्यमा ढिलाइ भएकोमा साबिकको ४५ गाविसको नाममा वर्गीकरण गरी अभिलेख राखिएको मोठमध्ये १४ मोठको स्क्यानिङ गर्ने कार्य बाँकी रहेको छ

उक्त स्क्यानिङ कार्य सम्पन्न भएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्माण गरेको सफ्टवेयरमा अभिलेख गरी अद्यावधिक गर्ने प्रक्रिया बढाइने उनले बताए । श्रेस्ता अभिलेख व्यवस्थापनले सेवा छिटो-छरितो र पारदर्शी हुनुको साथै कर्मचारीमाथि लाग्ने आरोपबाट पनि मुक्ति मिल्नुको साथै सेवाग्राहीले ढिलोसम्म समय खर्च गर्न नपर्ने फाइदा हुने उनले बताए । स्क्यानिङ कार्यका लागि इभरनल इन्फ्रास्ट्रक्चर कम्पनीलाई प्रतिपेज तीन रुपैयाँमा स्क्यानिङ गर्न दिइएको थियो ।