रसुवागढी जलविद्युत् निर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १२:४६
  • हिमनाथ देवकोटा

धुन्चे, रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट)को निर्माण ९० प्रतिशत सकिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन गर्ने लक्ष्य राखेको छ ।

इलेक्ट्रो मेकानिकलतर्फ उपकरण जडान भइरहेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । उनले भने, ‘४० प्रतिशत उपकरण जडान सकिएको छ । यसैलाई प्राथमिकता दिएका छौँ ।’ अन्य कामलाई पनि साथ-साथै अघि बढाइरहेको ज्याख्वाले बताए । उपकरण जडानको काममा ढिलाइ भएका कारण उत्पादन समय पछि धकेलिएको आयोजनाले जनाएको छ । ‘कोभिड-१९ का कारण देखाएर भारत फर्किएको प्राविधिक कामदार टोली ढिलो फर्कियो,’ उनले भने, ‘त्यसैले ढिलो भयो ।’ इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले ०७८ कात्तिकदेखि काम सुरु गरेको थियो । तोकिएको समयमै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको उनले बताए । सिभिलतर्फ दुई सय र इलेक्ट्रो मेकानिकलमा ६० जनाभन्दा बढी जनशक्ति खटिएका छन् । ०७० माघदेखि आयोजना निर्माण सुरु भएको हो । सुरुमा २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो । भूकम्प र नाकाबन्दीका कारण ढिला भएको हो । भूकम्पपछि आयोजना क्षेत्रको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ छ ।