विदुर, पछिल्लो समय लगातार महिनामा दुईपटक मूल्य बढाउँदै आएको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन सरकारले पुनः पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँले बढाएको छ । स्थानीय तह निर्वाचनलगत्तै सरकारले जनताको ढाड सेक्ने गरी पुनः पेट्रोलियम पदार्थमा १०-१० रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
रुस-युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको दाबी गर्दै सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि नै लागू हुने गरी एकैपटक पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँले बढाएको छ । निगमका अनुसार शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलसमेतको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको छ । यसरी बढाइएको यो नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ, डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य एक सय ५३ रुपैयाँ कायम गरिएको छ । नुवाकोटमा भने उक्त मूल्यमा ढुवानी भाडा प्रतिलिटर एक रुपैयाँ थप गरेर बिक्री हुने निगमले जनाएको छ । निगमले एलपी ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् राखेको छ । यसरी प्रतिलिटर १० रुपैयाँका दरले बढाइएको इन्धनको मूल्यपछि अब सार्वजनिक सवारीसाधनलगायत हरेक क्षेत्रमा मूल्यवृद्धि हुनेछ ।
जसका कारण हरेक क्षेत्रमा निरन्तर बढिरहेको चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य नेपाली उपभोक्ता थप मारमा पर्ने उपभोक्ता अधिकारकर्मीले बताएका छन् । उनीहरूले यसले अब न्यून आय भएका उपभोक्तालाई आफ्नो दैनिकी चलाउनसमेत थप कठिन हुने बताएका छन् । निगमका सहप्रवक्ता पुष्कर कार्कीले अझै धेरै घाटा हुँदाहुँदै पनि हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको बताए । मूल्य समायोजनपछि पनि पाक्षिक चार करोड २५ लाख रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर केही समयका लागि हटाएर र निगमको मुनाफा कम गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न विज्ञहरूले सुझाव दिएका छन् ।




प्रतिक्रिया