- सरस्वती न्यौपाने
धुन्चे, हालै सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनको मतगणना रसुवामा सम्पन्न भएको छ । सम्पन्न मतगणनाको परिणामअनुसार पाँचवटा गाउँपालिकाको प्रमुख–उपप्रमुख गरी १० सिटमध्ये नेकपा एमालेले पाँच र नेपाली काङ्ग्रेसले पाँच सिट जितेका छन्
प्राप्त मतपरिमाणअनुसार गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङले दुई हजार पाँच सय ६३ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् । स्थानीय तह गठन भएपश्चात् वि.सं. ०७४ सालको पहिलो निर्वाचनमा उनले एक हजार आठ सय २८ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङलाई चार सय ८३ मतले पछि पार्दै कैसाङले अध्यक्ष पदको विजयी हासिल गरेका थिए । काङ्ग्रेस उम्मेदवार तामाङले दुई हजार ८० मत प्राप्त गरेका थिए । वि. सं. ०७४ सालमा नेपाली काङ्ग्रेस सभापति र एमालेका कैसाङबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा तीन सय २३ मतको अन्तर परेको थियो । नेका सभापति तामाङले अघिल्लो निर्वाचनमा एक हजार पाँच सय पाँच मत ल्याएका थिए ।
यसैगरी, उत्तरगया गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कर्मीडाँडा मनिगाउँनिवासी माधवप्रसाद अर्याल विजय भएका छन् । उनले नेपाली काङ्ग्रेसका उपेन्द्र लम्साललाई चार सय ३९ मतले पछि पार्दै प्राप्त गरेको दुई हजार नौ सय ९९ मतले विजयी भएका हुन् । वि.सं. ०७४ को निर्वाचनमा एक हजार ६ सय ३० मत ल्याई गाउँपालिका अध्यक्ष बनेका लम्सालले ०७९ को निर्वाचनमा दुई हजार पाँच सय ६० मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेका जिल्ला संयोजक मेघनाथ घिमिरे प्रभाकरले भने दुई सय ५५ मत प्राप्त गरेका थिए । नौकुण्ड गाउँपालिकाको अध्यक्ष पद पुनः नुर्पुसाङ्वो घलेले हात पारेका छन् । घले तीन हजार चार सय ७५ मत प्राप्त गरी पुनः विजय भएका हुन् । उनी वि.सं. ०७४ मा पनि दुई हजार तीन सय एक मत प्राप्त गरी अध्यक्ष बनेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पूर्वउपाध्यक्ष सिर्जना लामाले भने अध्यक्ष पदमा तीन हजार ९७ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादी केन्द्रको तर्फका अध्यक्ष पदमा उम्मेदवार बनेकी योसिंगी घिसिङले तीन सय ४६ मत प्राप्त गरिन् । कालिका गाउँपालिकाको अध्यक्ष पदमा हरिकृष्ण देवकोटाले दुई हजार ६ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कमलनाथ आचार्यले दुई हजार दुई सय ८३ मत प्राप्त गरेर दोस्रो बने । उनी धैबुङस्थित कालिका क्याम्पसको प्रमुखबाट राजीनामा गरी अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नेकपा माओवादीका सोमबहादुर तामाङले भने एक हजार पाँच सय २२ मत प्राप्त गरेका थिए । उनी पनि कालिकास्थानमा रहेको आइसिएफसी बैंकको जागिर छोडेर अध्यक्षका उम्मेदवार बनेका थिए ।
त्यसैगरी, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा बुचुङ तामाङ निर्वाचित भएका छन् । उनी एक हजार चार सय ३० मत प्राप्त गरी अध्यक्ष पदमा पुनः विजय भएका हुन् । उनी वि.सं. ०७४ को पहिलो निर्वाचनमा नौ सय ६४ मत ल्याई गाउँपालिका अध्यक्ष बनेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार फुर्फुसिंगी तामाङले एक हजार तीन सय ४५ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका उम्मेदवार फुर्पुतेन्जेन तामाङले एक हजार एक सय २५ मत प्राप्त गरेर तेस्रो भए । यस जिल्लाका गाउँपालिका उपाध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट तीन र नेपाली काङ्ग्रेसको तर्फबाट दुई उपाध्यक्ष विजयी भएका छन् । एमालेबाट विजयी प्राप्त गर्नेमा गोसाइँकुण्डमा दुई हजार पाँच सय ४५ मतले प्रतिमा तामाङ, उत्तरगयामा तीन हजार एक सय ३४ मतले चमेली गुरुङ र नौकुण्डमा दुई हजार नौ सय चार मतले चन्द्रबहादुर तामाङ विजयी भएका छन् । चमेलीले भने दोस्रो कार्यकाल प्राप्त गरेकी हुन् । प्रतिमा भने नर्स हुन् । उनले कोभिडको समयमा पनि गाउँ-गाउँमा पुगी स्वास्थ्य उपचार गरेकी थिइन् । कलिलो उमेरमै सामाजिक अभियानकर्मी बनेकी तामाङले विद्यालयमा स्वास्थ्यको चेतना अभिवृद्धिको साथै आफ्नो निजीतर्फको व्यवस्थापनबाट शैक्षिक सामग्रीसमेत पटक-पटक वितरण एवम् गाउँ-समाजमा विपत् व्यवस्थापनमा सहयोग गर्दै आएकी थिइन् ।
त्यसैगरी, नेपाली काङ्ग्रेसको तर्फबाट आमाछोदिङ्मोको उपाध्यक्षमा एक हजार तीन सय ८१ मतले चण्डिका तामाङ र कालिकाको उपाध्यक्षमा दुई हजार नौ सय चार मत प्राप्त गरी मीरा तामाङ निर्वाचित भएकी छिन् । यसभन्दा अघि मीरा सिड्स नेपाल नामक गैसस रसुवाको प्रबन्ध–निर्देशक थिइन् । रसुवाको २७ वडामध्ये नेकपा एमालेले १३, नेपाली काङ्ग्रेसले १२ एवम् नेकपा माओवादी केन्द्रले दुई जितेका छन् । रसुवाको मतगणनाबाट यस वर्षको स्थानीय तह निर्वाचनमा बदर मत सङ्ख्या अत्यन्तै न्यून रहेको पाइयो । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार तीन सय १० मत बदर भएको छ । मतदाता शिक्षा नपाएको अवस्थामा समेत बदर मतको सङ्ख्यामा न्यूनता आउँदा रसुवाका मतदाताले मतको महत्व बुझेको हुन सक्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । कुल ३८ हजार पाँच सय ४५ मतदातामध्ये रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट ३० हजार चारजना मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया