विदुर, स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामअनुसार नुवाकोटमा जिल्ला समन्वय समिति नेकपा माओवादी केन्द्रको बन्ने लगभग पक्कापक्की भएको छ । जिल्ला समन्वय समिति बनाउन १२ वटा पालिकाका प्रमुख–उपप्रमुख सदस्य रहेका हुन्छन् । उनीहरूले समन्वय प्रमुख, उपप्रमुख र सदस्य चयन गर्छन्
गत ०७४ मा नेपाली काङ्ग्रेस एक्लैले जिल्ला समन्वय समिति बनाएको थियो । यसपटकको स्थानीय तहको १० वटा पालिकाको मतगणनाको नतिजाअनुसार माओवादी केन्द्रले दुप्चेश्वर, पञ्चकन्या, ककनीमा प्रमुख–उपप्रमुख, शिवपुरी, तारकेश्वर, किस्पाङ, तादीमा उपप्रमुख जितेको छ । समन्वय समिति बनाउन १३ सदस्य आवश्यक पर्छ । १० वटा पालिकाको मतगणनामा १० वटा सदस्यको प्रमुख–उपप्रमुख माओवादी केन्द्रले जितिसकेको छ । मतगणना बाँकी बेलकोटगढी नगरपालिकाको मेयर र विदुरको उपमेयर जित्ने दाबी उक्त पार्टीले गरेको छ । जारी मतगणनामा पनि यी दुई नगरपालिकामा माओवादी केन्द्रको मेयर–उपमेयरमा एक–एक पदमा अग्रता रहेको छ । गत ०७४ मा एक्लैले जिल्ला समन्वय समिति बनाएको नेपाली काङ्ग्रेसले १० वटा पालिकाको मतगणनाको नतिजाअनुसार लिखु, सूर्यगढीमा प्रमुख–उपप्रमुख, शिवपुरी, तादी, तारकेश्वरमा प्रमुख पद जितेको छ । समन्वय समिति गठन गर्नको लागि काङ्ग्रेसले १३ प्रमुख र उपप्रमुख जित्नुपर्छ । १० वटा पालिकाको नतिजाअनुसार काङ्ग्रेसले नौ सदस्य जितिसकेको छ । मतगणना बाँकी दुईवटा पालिकामध्ये काङ्ग्रेसले विदुरमा मेयर र बेलकोटगढीमा उपमेयरमा अग्रता लिइरहेको छ । यो दुवैतिर जिते पनि काङ्ग्रेसको ११ हुनेछ । एमालेले १० वटा पालिकाको मतगणनामा किस्पाङ गाउँपालिकाको प्रमुख जितेको छ । जिल्ला समन्वय बनाउन एमालेको सहारा काङ्ग्रेस र माओवादी केन्द्रले लिनुपर्ने भएकाले दुवै पार्टीको नेतृत्व तहले एमालेसँग छलफल अगाडि बढाइसकेका छन् ।




प्रतिक्रिया