केन्द्रीय र जिल्ला नेताको भोट खेर

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १५:२१

विदुर, नुवाकोट जिल्लाको सम्पन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीय र जिल्ला नेताले दिएको भोट अधिकांशको खेर गएको छ भने केही नेताको सदुपयोग भएको छ । जिल्लाको १२ वटा पालिकामध्ये यो समाचार तयार गर्दासम्म १० वटा पालिकाको नतिजा आइसकेको छ

निर्वाचन नतिजाअनुसार नेपाली काङ्ग्रेसका केन्द्रीय कार्यसमितिको प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. रामशरण महतको आफ्नै पालिका पञ्चकन्या गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष-उपाध्यक्षसहित जितेको छ । महत दाजुभाइसहित नेपाली काङ्ग्रेस जिल्ला सभापति रमेशकुमार महत र जिल्ला सचिव वैकुण्ठ मिश्रको समेत पालिका पञ्चकन्यामा काङ्ग्रेसले पराजय व्यहोरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीको पालिका ककनीमा समेत माओवादी केन्द्रले अध्यक्ष–उपाध्यक्ष जितेको छ । उक्त पालिकामा नेता केसी, उनकी पत्नी प्रतिमा केसी र १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित महासमिति सदस्य डा. केदारनरसिंह केसीले समेत गरेको मतदान खेर गएको छ । एमालेको केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाले दिएको भोट पनि खेर गएको छ । उनको आफ्नै पालिका सूर्यगढीमा नेपाली काङ्ग्रेसले अध्यक्ष–उपाध्यक्ष जितेको छ । उक्त गाउँपालिकामा मतदान गरेका एमालेका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश सांसद एवम् पूर्वमन्त्री बद्री मैनाली, नेकपा माओवादी केन्द्र नुवाकोटका समन्वय प्रमुख पुष्प लामिछानेको पनि यसपटक भोट खेर गएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद बहादुरसिंह लामाको पनि भोट खेर गएको छ । उनको पालिका किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पालिका लिखुमा नेपाली काङ्ग्रेसले जितेको छ । नेकपा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष एवम् बागमती प्रदेशका सांसद पूर्वमन्त्री केशव पाण्डेको पनि भोट खेर गएको छ । उनको पालिका बेलकोटगढी नगरपालिका-१३ मा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ । नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य एवम् सङ्घीय सांसद नारायणप्रसाद खतिवडाको तारकेश्वर पालिकामा पनि काङ्ग्रेसले जितेको छ । यसपटक सङ्घीय सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले दिएको मत भने सदुपयोग भयो । उनको पालिका पञ्चकन्यामा नेकपा माओवादी केन्द्रले जितेको छ ।